जनताका सामु गरेका प्रतिबद्धता पूरा गर्नेछु : नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ चैत्र १०, आईतबार


भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले आफूहरुले जनताका सामु गरेको प्रतिबद्धता पूरा गर्न जुनसुकै हालतमा तत्पर रहेको बताउनुभएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ र ६ मा पर्ने चुनदेवी–तीनधारा सडक विस्तार योजनाको शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले आफू भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले नगरपालिकाभित्र अबको ५ बर्षभित्र देखिने गरी नगरवासीले परिवर्तनको अनुभूत गर्न सक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो कार्यकालको पहिलो बर्ष ऐन कानुन, विधि र नियम बनाउने काम सकिएको छ । अब यो बर्ष देखि ५ औं बर्षसम्म हामीले विकासको काममा ध्यान दिनुपर्नेछ ।’  
पहिलो बर्ष नगरपालिकाले टुक्रे योजनामा ध्यान दिएको बताउँदै नगरप्रमुख थापाले दोश्रो बर्षदेखि प्रत्येक वडामा २ करोड बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले वडामा विनियोजन गरिएको २ करोड बजेटामा कम्तिमा १ करोड र ३० लाखको ठूला योजना हुनुपर्ने मापदण्ड बनाइएको समेत बताउनुभयो । 

पाँच लाखभन्दा माथिको कुनैपनि योजना उपभोक्तालाई नदिएर ठेक्का प्रक्रियाबाट जानुपर्ने प्रावधान व्यवस्था गरिएको थापाले बताउनुभयो । 
हाललाई चुनदेवी–तीनधारा सडक विस्तार योजनाका लागि १ करोडको बजेट विनियोजन गरिएतापनि सोे भन्दा बढीको काम हुने नगरप्रमुख थापाले बताउनुभयो । 

विकास निर्माणमा राजनीतिकरण गर्न नहुने बताउँदै थापाले विकास निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी राजनीतिमा प्रतिस्पर्धा र विकासमा ऐक्यबद्धतामा विश्वास गर्छाै । त्यसैले हामी सबै मिलेर नगरभित्रको सडक, ढल, मठमन्दिर लगायतका क्षेत्रमा विकास गर्नुपर्ने जरुरी छ ।’ 

सूर्यविनायक नगरपालिकालाई स्वच्छ, हराभार तथा सुन्दर नगर बनाउने अभियानमा आफूहरु क्रियशील भएको बताउँदै थापाले सबै नगरवासीको साथ र सहयोगले नै कुनै पनि क्षेत्रको विकास सम्भव हुने बताउनुभयो ।  
समाजमा विविध विचार र सोच भएका व्यक्तिहरु हुने भएकाले विकासमा कसैले अवरोध सिर्जना ग¥यो भने विधिसम्मत ढंगले प्रतिकार गर्नुपर्ने थापाले बताउनुभयो । 

पहिलो चरणमा सडक विस्तार गर्ने क्रममा रेखाङ्कन गर्ने सन्दर्भमा साना तिना विवाद आएपनि ठूलो समस्या नआउनेमा आफू विश्वस्त रहेको थापाले बताउनुभयो । 
उहाँले भन्नुभयो,‘विकास निर्माणमा राजनीतिकरण हुन दिनुपनि हुँदैन, यसको निम्ति सबै नगरवासीहरु एकजुट हुनुपर्दछ ।’

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजकुमार जोशी तथा वडा नम्बर ६ का वडा अध्यक्ष रामेश्वर ध्वजूले ८ मिटरको सडक विस्तार गर्दा सिमाङ्कनमा भएको सहजतालाई विस्तार गर्नेक्रममा पनि सहजता हुने बताउनुभयो ।