‘करको पूर्ण रुपमा सदुपयोग हुन्छ’–नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ चैत्र १६, शनिबार



भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नागरिकले तिरेको करको पूर्ण रुपमा सदुपयोग हुने बताउनुभएको छ । 

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै नगरप्रमुख थापाले नगरपालिकाका नागरिकले राज्यलाई तिरेको करको पूर्ण रुपमा सदुपयोग हुनेमा नगरवासीलाई विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले तिर्नु भएको कर वापत संकलन भएको रकम तपाईहरुको वरपरको विकासमा खर्च हुनेमा विश्वस्त हुनुहोस् ।’

कर तिर्नु नागरिकको दायित्व भएको बताउँदै थापाले आफू नगरवासीलाई रहरले कर तिर्ने वातावरण सिर्जना गर्न लागिपरेको बताउनुभयो ।

उहाँले सूर्यविनायक नगरपालिका अन्तर्गत घरबाहल करमा सरकारले लगाउँदै आएको १३ प्रतिशतको करलाई घटाएर ५ प्रतिशत निर्धारण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी करबृद्धि होइन करको दायरा बढाउन चाहन्छौ ।’

हाल सूर्यविनायक नगरपालिकाका सबै वडाहरुमा आफ्नो घर बाहलमा दिने करदाताहरुको अभिलेखीकरण गर्दै उहाँहरुबाट करको स्वघोषणा गर्ने कार्यलाई अगाडि बढाइएको बताउँदै थापाले भन्नुभयो, ‘नगरपालिकाभित्र व्यवसायिक प्रयोजनमा १० प्रतिशत र आवासिय प्रयोजनमा ५ प्रतिशत कर उठाउने निर्णय भएको छ । सोही बमोजिम करदाताहरुलाई कर तिर्न हामीले प्रेरित गरिरहेका छौं ।’

नगरप्रमुख थापाले यो बर्ष नगरपालिकाको भौतिक विकासमा विशेष ध्यान दिइएका कारण नगरपालिकाको पूर्वाधार निर्माणका कामहरु तीब्र गतिमा भइरहेको बताउनुभयो । थापाले भन्नुभयो,‘ नगरपालिकाभित्रका सबै वडाहरुमा सडक, पूल तथा अन्य भौतिक संरचनाहरु निर्माण तीब्र गतिमा भइरहेको छ ।’

नगरपालिकाका सबै वडामा लक्षित वर्ग अन्तर्गतका विविध कार्यक्रम सम्पन्न गर्न प्रत्येक वडामा ३/३ लाख विनियोजन भइसकेको बताउँदै अब छिट्टै उहाँहरुका निम्ति लक्षित कार्यक्रमहरु सम्पन्न हुनेछ । हाल लक्षित वर्ग अन्तर्गत महिला, बालबालिका, अपाङ्ग, युवा, दलित तथा जेष्ठ नागरिकहरुका विविध कार्यक्रम आयोजना गर्न रकम विनियोजन गरिएको नगरप्रमुख थापाले बताउनुभयो । उहाँले कार्यपालिकाबाट लक्षित कार्यक्रम अन्तर्गत नै २० लाख रकम विनियोजन गरिएको समेत बताउनुभयो ।