राजनीतिमा प्रतिस्पर्धा र विकासमा सहकार्य गरौं

अनन्त सन्देश

२०७५ चैत्र १६, शनिबार


अनन्त सन्देश विशेष सम्वाददाता ।
संघीय संविधानले व्यवस्था गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आ–आफ्नो जिम्मेवारी अनुसार कार्य क्षेत्रमा व्यस्त रहँदै गर्दा कतिपय जनप्रतिनिधिहरु नीति, नियम र जिम्मेवारीको समुचित प्रयोग गर्न नसक्दा अन्यौलमा परिरहेका छन् । त्यसो त कतिपय जनअपेक्षा र जिम्मेवारीलाई बहन गर्न नसक्दा कुहिरोको काग जस्ता पनि भएका छन् । तर संघीय संसदमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद महेश बस्नेतलाई भने अहिले भ्याइँ नभ्याइँ छ । उनको दिनचर्या यतिबिध्न व्यस्त छ कि,संघीय मन्त्री मण्डलका कतिपय सदस्यहरु समेत उनको यो व्यस्तताबाट लोभिन थालेका छन् । 

हरेक दिन विहान सखारैदेखि बस्नेतको दैनिकी आफ्ना निर्वाचन क्षेत्रको समग्र विकासमा केन्द्रित हुने गरेको छ ।  हुन त उनको निर्वाचन क्षेत्र जिल्लाको सूर्यविनायक र मध्यपुर नगरपालिका नै हो । तर उनको व्यस्तता आफ्नो निर्वाचन क्षेत्रमा मात्र सीमित छैन । उनी समग्र जिल्लाकै बिषयमा बढी केन्द्रित हुने गरेका छन् । चाहे त्यो आफ्नो निर्वाचन क्षेत्र बाहेक जिल्लाको चाँगुनारायण नगरपालिका होस् वा भक्तपुर नगरपालिकाभित्रका विभिन्न विकास र आम सरोकारका विविध बिषयमा नै किन नहोस्, उनको उपस्थिति र सक्रियता उत्तिकै देखिन्छ । 
यही बीचमा उनी कहिले जिल्लामा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान निर्माणको परिकल्पना गर्छन् त कहिले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको निर्माणमा जुट्छन् । कहिले जिल्लामा नयाँ पर्यटकीय सम्भाव्यताको खोजी गर्ने क्रममा स्थानीय श्रोत र साधनको समुचित प्रयोग गरी भ्यू टावर, प्याराल्याइडिङ तथा झोलुङ्गे पुलको निर्माणलाई अगाडि बढाउँछन् त, कहिले सुरक्षित भक्तपुरको परिकल्पना गर्दै राजमार्ग र खोलानाला सरसफाइको नेतृत्व गर्छन् ।

उनी भन्छन्, ‘जनप्रतिनिधि विधायक मात्र होइन, उ त विकासको सम्वाहक पनि हो । यदि चाहना र इच्छाशक्ति हुने हो भने एउटा विधायकले धेरै गर्न सक्छ ।’ उनी निर्वाचित भएपश्चात नै एउटा संकल्प गरेका थिए । उनले भनेका थिए,‘जसरी भएपनि आफ्नो जिल्लालाई समुन्नत र समृद्ध बनाइ छाड्नेछु ।’  नभन्दै उनी निर्वाचित भएको १ बर्ष पूरा हुँदैगर्दा जिल्लाको समग्र भौतिक विकासमा समृद्ध रेखा कोरिन थालेको छ । उनको सक्रियता र नेतृत्वमा नै ८१ करोडको लागतमा हनुमन्ते करिडोरको पहिलो चरणको काम सुरु भइसकेको छ भने दोश्रो चरणको काम सुरु हुँदैछ । त्यसो त उनकै प्रयासमा जिल्लामा सबै क्षेत्रमा सडक विस्तार कार्य अगाडि बढिरहेको छ भने आवयकीय पूल निर्माण कार्यले पनि त्यतिकै तीब्रता पाएको छ । अबको पाँच बर्षमा समग्र भक्तपुरको मुहार फेर्ने अभियानमा जुटेका बस्नेतको होस्टेमा उनकै सहराजनीतिकर्मीहरु प्रदेशसभाका सदस्यद्वय शशिजंग थापा, राजेन्द्रमान श्रेष्ठ तथा स्थानीय तहका बासुदेव थापा एवं मदनसुन्दर श्रेष्ठले हैँसे गरिरहेका छन् । 
त्यसो त बस्नेतले आफ्नो जिल्लाको समग्र विकासमा सक्रियता देखाएका छन् नै सँगै उनले राष्ट्रिय राजनीतिमा समेत गर्विलो र सशक्त उपस्थिति देखाउँदै आएका छन् । खासगरी संघीय संसदमा उनी नियमित उपस्थित मात्र हुँदैनन्, उनी सशक्त ढंगले आफू सैद्धान्तिक र वैचारिक रुपमा समेत प्रस्तुत हुँदै आएका छन् । खासगरी जिल्लाका समग्र विकास निर्माण र सरोकारका बिषयबस्तु सदनमा उनका प्राथमिकतामा बिषय त पर्छन् नै सँगै उनले राष्ट्रिय सरोकारका बिषयमा पनि नियमित रुपमा सशक्त ढंगले आवाज उठाउँदै आएका छन् ।   

विगतमा उनले नेतृत्व गरेका ठाउँमा धेरै जनप्रतिनिधि पुगेका थिए । तर उनको जस्तो उत्साह र सक्रियता कसैको नदेखिएको जिल्लावासीहरु बताउन थालेका छन् । 

बस्नेत भन्छन्, ‘विगतमा राजनीतिक नेतृत्वले के गरे वा गरेनन् भनेर मैले अहिले आलोचना गर्नुको औचित्य छैन, वर्तमानमा मैले के गरेँ र गर्दैछु भन्नेमा म बढी केन्द्रित छु ।’ विगतबाट पाठ सिकेर वर्तमानमा सकारात्मक कार्यलाई अगाडि बढाउनुपर्नेमा आफू विश्वस्त रहेको बताउँदै समग्र जिल्लाको विकासमा सबैको साथ र समर्थन आवश्यक भएको बस्नेत बताउँछन् । उनी भन्छन्, ‘राजनीतिमा प्रतिस्पर्धा गरौंला, तर विकासमा भने सबैसँग सहकार्य गरौं ।