परीक्षाको गलत मनोविज्ञान 

विमल थापा
विमल थापा

२०७५ चैत्र १७, आईतबार


बुधबार राती सप्तरीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को विज्ञान बिषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएपछि प्रदेश नम्बर २ को सो बिषयको परीक्षा चैत्र २२ गतेलाई सारिएको थियो । तर, यो घटना सार्वजनिक भए लगत्तै पर्सीपल्ट सामाजिक बिषयको पनि प्रश्नपत्र सार्वजनिक भएपश्चात प्रदेश नम्बर २ को सम्पूर्ण परीक्षा स्थगित गरिएको छ । यसले प्रदेश नम्बर २ बाट परीक्षामा सहभागी हुँदै गरेका झण्डै ७२ हजार विद्यार्थीहरुमा अन्यौलतामा सिर्जना भएको छ भने उनीहरु आक्रोसित समेत भएका छन् । त्यसको साथै यस्ता घटनाले गर्दा अभिभावकहरुमा चिन्ता बढ्नु स्वभाविक हो । 

दुई बर्षअगाडि देखि प्रवेशिका परीक्षालाई खारेज गरी माध्यमिक शिक्षा परीक्षा (एसईई) लागू गरिएको थियो । खासगरी विद्यालय शिक्षाको गुणस्तरीयता र यसको मापदण्डलाई व्यवहारिक बनाउने ध्येयले सरकारले पूरानो परीक्षा प्रणालीलाई खारेज गर्दै अक्षरांक प्रणालीसहित यसलाई नयाँ स्वरुपमा अगाडि बढाउने निर्णय गरेको हो । यसो गर्नुमा मूलतः दुई वटा उद्देश्यलाई आत्मसाथ गरिएको सरकारको जिकिर छ । पहिलो १० बर्षसम्म नियमित रुपमा विद्यालयमा अध्ययनरत कुनैपनि विद्यार्थीहरुलाई परीक्षाका माध्यमबाट अनुतिर्ण नबनाइ उनीहरुको क्षमताका आधारमा अक्षराङ्क ग्रेडिङ सिस्टमबाट परीक्षामा उतिर्ण गराउने र दोश्रो उनीहरुको क्षमता र सिर्जनशिलताका आधारमा परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने पनि हो । तर हाम्रोमा यसलाई मर्यादित बनाउनुको साटो विगतमा एसएलसी परीक्षामा जुन खालका गतिविधिहरु हुने गर्दथे, सोही पक्षले निरन्तरता पाउनु आफैमा कमजोरी सिवाय अरु केही होइन । 

दुई बर्ष अगाडि लेटर ग्रेडिङ प्रणाली लागू गर्दा पनि यस बिषयमा गम्भीर आलोचना भएकै हो ।  यस क्षेत्रका विज्ञहरुले त अध्ययनबिना नै शिक्षा मन्त्रालयले एसईईमा ‘लेटर ग्रेडिङ’ प्रणाली अगाडि ल्याएकोमा यसले शिक्षा क्षेत्रमै गम्भीर खालको समस्या आउने तर्क गरेका थिए । शिक्षाविद् शिक्षाविद् डा विद्यानाथ कोइरालाले शैक्षिक गुणस्तर सुधार गर्ने बहानामा नेपालको शैक्षिक पद्धति अध्ययन नै नगरी विश्व बैकको दबाबमा उक्त प्रणाली लागू गरिएको बताएका थिए । उनले तल्लो श्रेणीमा परीक्षा पास गर्ने विद्यार्थीले आफूले चाहेको विषय पढ्न नपाउने हो भने ग्रेडिङ प्रणालीको कुनै मान्यता नहुने बताएका थिए । उनले यो पनि भनेका थिए कि, कुनै पनि विद्यार्थीले चाहेको सबै बिषयमा प्रवेश परीक्षा लिनुपर्ने र मेरिट लिस्टको आधारमा भर्ना हुन पाउने व्यवस्था गरेमात्र यो प्रणाली स्वभाविक हुन्छ । यदि लेटर ग्रेडिङकै आधारमा मात्र विद्यार्थीले आफूले चाहेको बिषय अध्ययन गर्न पाउने हो भने विगतको एसएलसी परीक्षाभन्दा खासै तात्विक अन्तर हुँदैन । 

त्यसो त कतिपय विद्यार्थीहरुमा यो पनि बुझाइ पाइन्छ कि, लेटर ग्रेडिङको माध्यमबाट गरिने मूल्याङ्कन पद्धातिले परीक्षामा सामेल भएपछि पास भइहालिन्छ भन्ने संकिर्ण सोचका कारण कतिपय विद्यार्थीहरु अध्ययनमा खासै जिम्मेवार हुने गरेका छैनन् भने कतिपय विद्यार्थीहरुलाई पनि लेटर ग्रेडिङका माध्यमबाट उत्कृष्ट अंक ल्याउन नसकेमा आफूले चाहेको बिषय अध्ययन गर्न नपाइने चिन्ताले पनि उत्तिकै पिरोल्ने गरेको पाइन्छ । यसरी हेर्दा सरकारले ल्याएको नयाँ परीक्षा प्रणालीको खासै तात्विक अन्तरमा भिन्नता पाइँदैन । 

सरकारले ल्याएको नयाँ परीक्षा प्रणालीले माध्यमिक शिक्षालाई व्यवस्थित र मर्यादित बनाउने ध्येय राखेतापनि यसको व्यवहारिक प्रयोग सही ढंगबाट हुन नसकेको प्रष्ट छ । यो कुरालाई पछिल्लो पटक एसईई परीक्षाको प्रश्नपत्र सार्वजनिक भएबाट पनि पुष्टी गर्दछ । अझैपनि हामीले एसईई परीक्षालाई सामान्य र नियमित रुपमा बुझ्न सकिरहेका छैनौ । खासगरी विगतको जस्तो एसएलसी परीक्षामा उत्कृष्ट विद्यालय, उत्कृष्ट विद्यार्थी भनी देशव्यापी प्रचार गर्ने प्रचलनलाई एसईई परीक्षाको परीक्षाफल प्रकाशित हुँदा पनि निरन्तरता पाउँदा योे प्रणालीको खासै गरिमा र महत्व रहन सकेन । 

विगतमा एसएलसीमा बोर्ड प्रथम देखि दशौं स्थानसम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई जुन ढंगले देशव्यापी प्रचार गरिन्थ्यो । जसका नाममा विद्यालयहरुले आफ्नो व्यवसाय प्रबद्र्धन गर्दथे । त्यतिञ्जेल आफ्ना विद्यार्थी र विद्यालयको नामलाई अब्बल देखाउने अदृश्य रुपमा थुप्रै आर्थिक अवचलन हुने गरेका तथ्यहरु बेला बेलामा सार्वजनिक हुँदै आएका थिए । अहिले एसईई परीक्षालाई आधुनिकीकरण र विश्वव्यापी मान्यताका आधारमा लेटर ग्रेडिङ प्रणालीबाट अगाडि बढाइएको भनिएतापनि त्यसको प्रभाव भने खासै नौलो भेटिँदैन । उही पूरानो धङधङी अहिलेपनि विद्यमान रहेको छ हाम्रो समाजमा । खासगरी विगतमा विद्यालय र विद्यार्थीलाई अब्बल सरकारले नै घोषणा गरिदिन्थ्यो भने अहिले विद्यालयहरु आफैले स्वघोषणा गर्दछन् कि यसबर्षको एसईई परीक्षामा नेपालभरिमा हाम्रा विद्यार्थीले सर्वाेत्कृष्ट नतिजा हासिल गरेका छन् भनेर एसईईको परीक्षाफल प्रकाशित भएको हप्ताभरि नै प्रचार–प्रसार गरिन्छ । यसमा सरकारले खासै चासो र सरोकार दिएको पाइँदैन । यस्ता मनोविज्ञानले पनि अभिभावक, विद्यार्थीहरु तथा शिक्षकहरुमा नराम्रोसँग जरा गाडेको छ । 

खासगरी परीक्षा कुनै एउटा निश्चित बिषय वा क्षेत्रमा निश्चित समयसम्म अध्ययन गरिसकेपश्चात त्यसको स्वमूल्यङ्कन गर्ने पद्धति नै हो । यो त नियमित प्रक्रिया र स्वभाविक चरण नै हुन् । कुनै पनि बालबालिकाले आफ्नो बाल्यअवस्थादेखि नै सिक्नै र कुनै न कुनै ढंगले परीक्षा दिँदै आएका हुन्छन् । अनि त्यसमा स्वभाविक परिणाम पनि प्राप्त गर्दै जान्छन् । तर जीवनमा हरेक भोगाइ अनि सिकाइको परीक्षामा तब मात्र ऊ उतिर्ण भएको ठहर्छ, तब उसले जीवनमा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा लागू गर्न उ सक्षम हुन्छ । तर हामीले अहिलेसम्म पनि आफ्ना नानीहरुलाई न त जीवनका सिकाइहरुलाई व्यवहारमा रुपान्तरण गर्नपट्टि अभिप्रेरित गर्न सिकायौं न त, उनीहरुको सिकाइको स्तर कतातिर उन्मूख छ भनेर मूल्याङ्कन नै गर्न सक्यौैं । हामीले केवल आफ्ना नानीहरुलाई विद्यालय र कलेजबाट प्राप्त हुने लिखित अंकको आधारमा प्राप्त गरेका परिणामलाई मात्र आफ्ना सन्तानले सिकेका कुराहरुको मापन गर्न थाल्यौं । 

मूलतः हाम्रा नानीहरुलाई यतिबिध्न कागज र अंकगणितिय जोड घटाउमा नै सीमित गरिदियौं कि, भोलि गएर उनीहरुले आफ्नो जीवनमा आइपर्ने कुनैपनि खाले सामान्य घटना वा परिस्थितिलाई सामना गर्न सक्षम बनाउन सकेका छैनौ । उनीहरुलाई यतिबिध्न हामीले अंकमा निर्भर हुन सिकायौं कि उसले न त त्यसलाई उसको जीवनमा प्रयोग गर्न सक्दछ, न त उसले आफूले विद्यालय र कलेजमा प्राप्त गरेका अंकको आधारमा आफूलाई कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गरेर अगाडि बढ्न सक्दछ । यदि यस्तो अवस्थामामा हामीले हाम्रा विद्यार्थीहरुलाई उत्पादन गरिरहेका छौ भने यसरी सम्पन्न गरिएको परीक्षाको हाउँगुजी विद्यार्थीहरु र अभिभावकहरुमा किन यतिबिध्न ठूलो ?