सर्टिफिकेटको आधारमा मात्र बौद्धिकता मापन हुँदैन : प्रदेश सांसद थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ चैत्र २४, आईतबार


भक्तपुर । प्रदेश नम्बर ३ का सांसद शशिजंग थापाले समाजमा बौद्धिक जगत नेतृत्वमा मात्र नभइ समाजमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने खालका गतिविधिमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 

प्राज्ञिक समाज दधिकोटको बार्षिक साधारण सभामा बोल्दै सांसद थापाले बौद्धिक जगतको भूमिका भनेको समाजमा सिर्जनशीलतालाई प्रभावकारी रुपमा प्रस्तुत गर्ने हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वविद्यालयबाट प्राप्त सर्टिफिकेटको आधारमा मात्र कुनै पनि व्यक्तिलाई बौद्धिक मान्न सकिँदैन । कुनैपनि व्यक्तिको बौद्धिकताको मापन भनेको उसले समाजमा कति योगदान दिन सक्यो भन्नेमा निर्भर हुन्छ ।’  

थापाले अहिले पनि समाजमा प्राज्ञिक भनिनेहरुले आफ्नो क्षमताअनुसारको कार्यलाई अगाडि बढाउन नसक्नु विडम्बनापूर्ण अवस्थामा रहेको बताउनुभयो । उहाँले मुलुकको समग्र विकासमा प्राज्ञिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

अहिले समाजमा जैविक र आयातित गरी दुईथरि प्राज्ञिकहरुको रहेको बताउँदै सांसद थापाले समाज विकासको निम्ति आयातित भन्दा पनि जैविक प्राज्ञिकको आवश्यकता रहेको बताउनुभयो । थापाले भन्नुभयो, ‘समाजको बस्तुस्थिति बुझेर सही विश्लेषणसहित अगाडि बढ्न सक्ने व्यक्ति नै जैविक प्राज्ञिक हो, जुन कुरा आयातित प्राज्ञिकसँग प्राप्त गर्न सकिँदैन ।’

सांसद थापाले मुलुक अब समृद्धिको बाटोमा अगाडि बढेको बताउँदै जिल्लाको समग्र विकासमा समेत उल्लेखनीय प्रगति भएको बताउनुभयो । उहाँले विकासमा प्रतिस्पर्धा हुनै नसक्ने बताउँदै सबै वर्ग र सुमदायले जिल्लाको विकासमा ऐक्यबद्धता जनाउनुपर्ने बताउनुभयो । 

मुलुकको समग्र विकासमा भएका सकारात्मक पहलको बौद्धिक जगतले निष्पक्ष ढंगले टिप्पणी गर्नुपर्ने बताउँदै थापाले भन्नुभयो, ‘हामी हरेक कुरामा नकारात्मक ढंगले मात्र टिप्पणी गर्छाै भने त्यसलाई बौद्धिक खेडेरीका रुपमा बुझ्नु जरुरी छ ।’