लक्षित वर्गका कार्यक्रमले तीब्रता पाइरहेको छ: नगरप्रमुख थापा

अनन्त सन्देश
अनन्त सन्देश

२०७५ चैत्र २४, आईतबार


भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले लक्षित वर्गको तय गरेको विभिन्न कार्यक्रमहरु तीब्र गतिमा भइरहेको बताउनुभएको छ ।

अनन्त सन्देशसँग विशेष कुराकानी गर्दै थापाले यो बर्ष प्रत्येक वडामा लक्षित वर्ग अन्तर्गत ३/३ लाख रकम विनियोजन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाले यो बर्षका निम्ति तय गरेका विभिन्न सामाजिक सुरक्षा अन्तर्गतका कार्यक्रमहरु सम्पन्न गर्ने कार्यलाई तीब्रता दिएका छौं ।’

थापाले नगरपालिकाले यो बर्ष तय गरेका सम्पूर्ण योजना निर्धारित समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको समेत बताउनुभयो । उहाँले नगरपालिका अन्तर्गत प्रत्येक वडामा विकास निर्माणका कामहरु तीब्र गतिमा भइरहेको बताउनुभयो । 

गत बुधबार नगरपालिकाको वडा नम्बर १ मा बर्ड फ्लू संक्रमित कुखुरा नष्ट गरिएको बताउँदै यसबाट किसानहरुमा परेको मर्काप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख थापाले नगरपालिका अन्तर्गत अन्य कुखुरा फर्मलाई संक्रमणमुक्त बनाउने अभियान सञ्चालन भइरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नगरपालिकामा सबै क्षेत्रमा बर्ड फ्लूको संक्रमण भएको छैन, हामी कुनै पनि बेला हुन सक्ने यस्ता संक्रमणबाट जोगिन पूर्ण रुपमा सतर्कता अपनाइरहेका छौं ।’