बर्ष २०७५ समृद्धि र विकासको बर्ष : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ बैशाख १, आईतबार


भक्तपुर । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले बर्ष २०७६ मुलुकको समग्र विकासका साथै भक्तपुरको समेत समृद्धिमा केन्द्रित हुने बताउनुभएको छ ।

नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना सन्देशमा जारी गर्दै बस्नेतले बर्ष २०७५ मुलुकको समृद्धि र विकासको निम्ति उल्लेखनीय बर्षका रुपमा रहेको बताउनुभएको छ । उहाँले लामो समयदेखिकोे राजनीतिक संक्रमणकालिन अवस्थालाई अन्त्य गर्दै ऐतिहासिक संविधान सभाबाट निर्माण भएको संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने पहिलो बर्षका रुपमा २०७५ मा उल्लेखनीय कार्यहरु भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।  

पहिलोपटक ऐतिहासिक रुपमा जनताबाट प्राप्त स्पष्ट बहुमतको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले आफ्नो पहिलो बर्ष अग्रमन, सफलता र समृद्धिको बर्षको रुपमा केन्द्रित गरेको बस्नेतले बताउनुभएको छ । 

उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ,‘सरकार गठन भएसँगै ‘सुखी नेपाली र समृद्ध नेपाल’ को परिकल्पनासहित दृढ संकल्पका साथ कार्यक्रमहरु अगाडि बढाउने क्रममा योगदानमा आधारित सामाजिक सुरक्षा तथा स्वेदशभित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न प्र्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा हुनु आफैमा सरकारको उल्लेखनीय कार्यका रुपमा लिन सकिन्छ ।’
 
पछिल्लो पटक विश्व बैंकले दक्षिण एशियामा तीब्र आर्थिक विकास गरेको ३ वटा देशमध्ये नेपाललाई पनि उल्लेखित गर्नु आफैमा सकारात्मक भएको बताउँदै बस्नेतले भन्नुभएको छ, आर्थिक समृद्धिबिना मुलुकको विकास सम्भव छैन भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई मुलुकमा लगानी गर्न प्रेरित गर्ने हेतुले लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको अर्काे सफलता भएको हो ।’

बस्नेतले आफू निर्वाचन भएको १४ महिनाको अवधिमा समग्र मुलुकमा जस्तै भक्तपुरकोे समृद्धि र विकासलाई पनि विशेष प्राथमिकता साथ अगाडि बढिरहेको बताउनुभएको छ । 

इतिहासमै सबैभन्दा बढी विकासका योजनाहरु बर्ष २०७५ मा भक्तपुर जिल्लाका लागि विनियोजन गर्न सफल हुनु आफैमा उपलब्धी भएको बताउँदै सांसद बस्नेतले यो उत्साहलाई आगामी बर्षपनि निरन्तरता दिने बताउनुभएको छ । 

बर्ष २०७५ मा भक्तपुरको विकास र समृद्धिका आधारहरु तय गर्ने क्रममा सुरक्षित भक्तपुरको परिकल्पनालाई सार्थक बनाउनको निम्ति जिल्लाको मुख्य राजमार्ग अरनिको राजमार्गलाई सुरक्षित र सफा बनाउने अभियानलाई निरन्तरता दिइएको समेत सांसद बस्नेतले बताउनुभएको छ । 

उहाँले भक्तपुरको मुख्य राजमार्गको वैकल्पिक राजमार्गहरु पहिचान गर्ने क्रममा हनुमन्ते र मनोहरा करिडोर निर्माण कार्यलाई तीब्रता दिइएको बताउँदै जिल्लाको ऐतिहासिक सभ्यतासँग जोडिएको हनुमन्ते नदी तथा मनोहरालाई स्वच्छ र सफा राख्ने अभियानमा बृहत जनसहभागितालाई समेत अगाडि बढाइको आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । 

यो क्रममा जिल्लाको समग्र विकासलाई तीब्र गतिमा अगाडि बढाउने क्रममा हनुमन्ते करिडोर निर्माण, राष्ट्रिय प्राणी उद्यान निर्माण, भौतिक संरचनाहरु सडक तथा पुल निर्माण कार्यलाई प्राथमिकीकरण गरिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘जिल्लामा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान र सम्मेलन केन्द्र निर्माणको प्रक्रियालाई अगाडि बढाइएको छ भने पर्यटकीय सम्भाव्यताको खोजी गर्ने क्रममा जिल्लामा प्याराग्लाइडिङ, भ्यू टावर निर्माण तथा धार्मिक पर्यटनलाई बृद्धि गर्न शिव सर्किटको अवधारणालाई अगाडि बढाइएको छ ।’ 

जनताबाट प्राप्त गरेको अपार साथ,समर्थन, विश्वासलाई कुनैपनि बाहनामा अवमूल्यन हुन नदिने बताउँदै सांसद बस्नेतले आफूलाई अहोरात्र जनपक्षीय विकास निर्माण र सरोकारका क्षेत्रमा दत्तचित्त भएर अगाडि बढ्न पाउँदा मलाई गर्व महसुस भएको बताउनुभएको छ । 

सांसद बस्नेतले विकासको प्रतिफल सबै जनताको पहुँचभन्दा भित्र हुनुपर्ने उल्लेख गर्दै जिल्लाको सम्पूर्ण क्षेत्रमा भूगोलका आधारमा कुनैपनि विभेद नगरी विकासको प्रतिफल सबै क्षेत्रका नागरिकको पहुँचमा पुग्ने गरी अगाडि बढाइएको समेत उल्लेख गर्नुभएको छ ।