प्रताप स्मृति पुरस्कार ‘भट्टराई’ र सीतादेवी स्मृति पुरस्कार ‘भण्डारी’ लाई 

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ बैशाख २९, आईतबार


काठमाडौं । २०७५ सालको प्रताप स्मृति पत्रकारिता पुरस्कार चन्द्रमणि भट्टराई र सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार बैकुण्ठ भण्डारीलाई प्रदान गरिएको छ । 

आइतबार राजधानीमा नेपाल पत्रकार मञ्चले आयोजना गरेको पत्रकारिता पुरस्कार तथा अग्रज पत्रकार सम्मान कार्यक्रममा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत साइद अल नाक्वीले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशी क्रमशः १५ हजार र २० हजार १ रुपैयाँको रहेको छ । कार्यक्रममा इजहार मिकरानी र पूर्ण महर्जनलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको छ । 

प्रताप स्मृति पत्रकारिता पुरस्कार पत्रकार योगेन्द्रप्रताप शाहीले वि. सं. २०६७ मा आफ्ना स्वर्गीय पिताको स्मृतिमा स्थापना गर्नुभएको हो । त्यस्तै पत्रकार यज्ञबहादुर ढकालले स्वर्गीय आमाको स्मृतिमा गत बर्ष सीतादेवी स्मृति पत्रकारिता पुरस्कार घोषणा स्थापना गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै राजदूत नाक्वीले लोकतन्त्रमा नागरिकका आवाज आमसञ्चारले बोल्नुपर्ने बताउनुभयो । उहाँले युएइमा २ लाख ५० हजार नेपाली कार्यरत रहेको बताउँदै उहाँको क्षमता र बृत्ति विकासको निम्ति विशेष पहल गरिरहेको बताउनुभयो । 

उहाँले नेपाल र यूएइबीचको मैत्रीपूर्ण सम्बन्ध स्थापना भउको ४२ बर्ष पुगेको सन्दर्भ जोड्दै यो सम्बन्धलाई जनस्तरबाट समेत अझ प्रगाड र मजबूद बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिवले नेपाली आमसञ्चार अहिले सरकारले तयार पारेको मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पासोमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सरकारले प्रस्ताव गर्न खोजिएको व्यवस्थाभन्दा अहिलेको व्यवस्था धेरै लोकतान्त्रिक र समावेशी रहेको छ । यो बिधेयक स्वीकृत हुने हो भने कसैले पनि खोजमुलक समाचार लेख्न सक्दैन । त्यसैले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि हामी अन्तर्राष्ट्रिय मिडिया र संयुक्त राष्ट्र संघको ध्यान आकर्षित गराउने प्रयासमा छौं ।’ 

कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकार आफूले आफैंलाई प्रोत्साहित गरिहेको अवस्थालाई सरकारले अवमूल्यन गर्न नहुने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘नेपाल पत्रकार मञ्चले अहिले २ वटा पुरस्कार दिइरहेको छ । पत्रकारलाई काममा हौसला दिन यसको संख्या बढाउने तयारी छ ।’ 

यस्तै सम्मानित अग्रज पत्रकार इजहार मिकरानीले नेपालको मिडियाले आफूलाई व्यवसायिक रुपमा अगाडि बढाउने क्रममा धेरै चुनौतीको सामना गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, सञ्चार माध्यम निष्पक्ष, स्वतन्त्र र स्वायत्त हुनु जरुरी छ । यसमा कसैले पनि अंकुश लगाउनु हुँदैन ।’

कार्यक्रममा काठमाण्डौ थापाथली निवासी विनय अमात्यलाई नेपाल पत्रकार मञ्चको आजीवन सदस्यता समेत प्रदान गरिएको थियो ।