पत्रकारिता पेशाले मलाई मेरो नाम सहितको परिचय दिएको छ : आरती चटौत, लैङ्गिक विश्लेषक एवं वरिष्ठ सञ्चारकर्मी 

विमल थापा
विमल थापा

२०७६ बैशाख ३०, सोमबार


नेपाली पत्रकारितामा उल्लेखनीय रुपमा महिलाहरुको सक्रियता बढ्न थालेको छ । पछिल्लो समयमा नेपाली पत्रकारितामा महिलाहरुको रुची र प्रवेश पनि उत्तिकै बढ्दो छ । समग्र नेपाली पत्रकारिता जसरी अगाडि बढिरहेको छ, महिलाहरुको सक्रियताको अवस्था पनि त्यस्तै छ । सडकदेखि सदनसम्म, प्रविधिका क्षेत्रदेखि ‘कन्टेन्ट’ उत्पादनमा समेत महिलाहरुको संख्यात्मक र गुणात्मक प्रभावकारिता बढ्दो छ । एकातिर यो क्षेत्रमा महिलाहरुको प्रवेशमा नै कमी छ भने अर्काेतिर पेशालाई निरन्तरता दिन नसक्नु पनि चुनौतीपूर्ण अवस्था छ । प्रस्तुत छ, नेपालकी अग्रणी महिला पत्रकार तथा लैङ्गिक विश्लेषक आरती चटौतसँग नेपाली पत्रकारिताको समग्र बिषयबस्तुमा अनन्त सन्देशका विमल थापाले गरेको विशेष कुराकानीको प्रमुख अंश :

जतिखेर तपाईले नेपाली पत्रकारिता सुरु गर्नुभयो, तपाईको निम्ति अनपेक्षित वा स्वभाविक थियो ? 
यहाँको प्रश्नले मलाई एकपल्ट त्यो अतितमा पु¥यायो । जुन मेरो जीवनको सबैभन्दा महत्वपूर्ण मोड थियो । त्यसअघि पत्रकारिता मेरो जीवनमा कहिले कुनै चाहना वा रोजाइको बिषय थिएन । भनिन्छ नि, आमा हजूरआमाको पालादेखि कसैले नगरेको पेशा । पढाईमा सँधै राम्रो गर्ने भएकाले परिवारको चाहना डाक्टर बनोस् भन्ने थियो । तर, मेरो रुची भयो अर्थशास्त्र र साहित्य....। स्कूल पास गरेपछि कलेज अध्ययनको क्रममा नेपाल टेलिभिजनले एक महिने कार्यक्रम प्रस्तोता तालिमको नोटिस निकालेको देखेँ । किन हो, त्यो तालिम लिन ‘अचानकै’ मन लाग्यो....। एक महिने तालिम लिएँ, अन्त्यमा एक कार्यक्रम निर्माण गरी परीक्षा दिएँ र सर्टिफिकेट सहित विदा भएँ । त्यतिञ्जेलपनि म पत्रकारितासँग जोडिन्छु जस्तो लागेको थिएन । त्यो तालिमको केही समयपछि नेपाल टेलिभिजनका तत्कालिन महाप्रबन्धक तपानाथ शुक्लाको रोजाइमा म परेछु–सन्दर्भ थियो ‘परिवृत्त’ नामक समसामयिक बिषयमा आधारित, समाचारमूलक प्रस्तुतीको । एक कजेलको विद्यार्थीले नेपालको एकमात्र टेलिभिजन रहेको अवस्थामा त्यो ‘अफर’ पाउनु सानो कुरा थिएन । मैले सहर्ष स्वीकारेँ । ‘परिवृत्त’ बाट सुरु भएको मेरो यात्रा ‘जागृति’, ‘संघर्ष’, ‘NTV Forum’ हुँदै धेरै आयामसँग जोडियो । यसै माध्यमले मैले नेपाली समाजलाई बुझेँ । महिलाका अधिकारसँग हुरुक्कै भएर जोडिन पुगेँ ।  आफ्नो अध्ययनको यात्रालाई पनि जारी राखेँ । देश–विदेशका धेरै कार्यक्रमहरुमा सहभागी हुने अवसर पाएँ । नेपालका लगभग सबै जिल्ला पुग्ने सुअवसर पाएँ । दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानले मलाई कृतज्ञ बनाए । नेपालभरि जहाँ जान्छु, परिचय दिन पर्दैन, बरु न्यानो माया र स्वागत पाउछु । यो धेरै प्राप्तिबीच मैले अनवरत रुपले अँगालेका केही कुरा थिए । अनवरत मिहिनेत, पेशाप्रतिको इमान्दारिता र नेपाल टेलिभिजन । यसो हेर्दा पत्रकारिता क्षेत्रमा मेरो प्रवेश अनपेक्षित नै थियो । तर, यसको रंगमा म यसरी रंगिएँ कि, अहिले मेरा लागि यो भन्दा स्वभाविक अर्काे केही करियर हुँदैनथियो । 

नेपाली पत्रकारिताको क्षेत्रमा अग्रणी हुनुहुन्छ । यस क्षेत्रमा अवसर र चुनौती कस्तो पाउनुहुन्छ ? 
पत्रकारिता क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा केही गर्न खोज्नु र त्यसमा पनि केही फरक गर्ने प्रयास आफैमा चुनौतीपूर्ण हुन्छ । फेरि मलाई लाग्छ चुनौती नभइ अवसरहरु पनि कहाँ श्रृजना हुन्छन् र ? त्यसैले मैले हरेक चुनौतीलाई अवसरकै रुपमा लिएँ र त्यो क्षेत्रमा अनवरत प्रयासले मैले थोरै भएपनि फरक पारेँ कि जस्तो लाग्छ । त्यसो त नेपाल जस्तो देश जहाँ हरेक क्षेत्रमा ‘शक्ति संरचना’ हावी छ । त्यहाँ पत्रकारितापनि त्यसबाट अलग छैन । नेपालको पत्रकारिता कि त ‘राजनीति’ कि त ‘लगानी’ दुई ध्रुवमा बाँडिएका छन् । पत्रकारितामा व्यवसायिकको विकास हुन नसक्नु आज ठूलो चुनौतीको बिषय हो । राजनैतिक धार र लगानीकर्ताको मारमा परेको पत्रकारिता क्षेत्र सम्बन्धित पक्षको ‘लाभ’ का लागि तल्लीन भएको देखिन्छ । यो ‘आवाज विहीनहरुको आवाज’ होइन कि ‘शक्तिशालीको आवाज’ बनेको स्पष्ट छ । तथापि, केही त यस्ता पत्रकार छन्, जसले यस बिषयको विरुद्धमा र ‘आवाज विहीनहरुको आवाज’ बन्ने प्रयासमा छन् । तर तिनको यात्रा पनि सहज छैन । यसैसँग जोडिन्छ पत्रकारको सुरक्षा, पारिश्रमिक, अधिकारका कुरा । यसरी हेर्दा नेपाली पत्रकारिता चुनौतीले भरिएको छ । तर यसैबीच पनि यी सबैलाई चिर्दै केहीले राम्रो गर्ने प्रयास गरेका छन् र त्यो परिणामुखी पनि भएको छ । अहिले पत्रकारिता बिषयमा नै अध्ययन गरेर पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेहरुको संख्या बढ्दो छ । यसले अब विस्तारै हाम्रो पत्रकारिता पनि अझ बढी व्यवसायिक बन्दै जानेछ भन्ने कुरामा म आशावादी छु । अनि जहाँसम्म अवसरको सवाल छ, अवसर केलाई मान्ने ? पत्रकारिता मार्फत चिनिएर देश बाहिर जाने, राम्रो आम्दानीको ठाउँमा काम गर्न जानेको जमात पनि ठूलै छ । अनि अप्ठेरो र चुनौतीबीच पनि सत्यको पक्षमा रहेर–केही परिवर्तन गर्न सक्ने उत्साहलाई अवसर मानेर पत्रकारितालाई नछोड्ने पनि छन्–जुन थोरै होलान् तर गुणात्मक छन् ।

नेपाली पत्रकारिता क्षेत्रमा आएका विकास वा परिवर्तन कस्तो पाउनुहुन्छ ? 
नेपाली पत्रकारिता क्षेत्रको परिवर्तन र विकास कुरा गर्ने हो भने निश्चयपनि यसमा विगत २० बर्षयता निकै ठूलो परिवर्तन आएको छ । २०४७ सालपछि खुला वातावरणले निजी क्षेत्रको प्रवेशसँगै यो क्षेत्र विशाल भएर गयो । संस्थागत रुपमा हेर्ने हो भने पनि पत्रिका, रेडियो, टेलिभिजन र पछिल्लो केही समययता अनलाइन आफ्नै भीडमा आफै हराउने भइसकेका छन् । राष्ट्रिय स्तरका सञ्चार माध्यममात्र नभइ, स्थानीय स्तरमा खुलेका विशेषगरी एफ.एम.रेडियोहरुले स्थानीय आवाजको उठान र त्यो क्षेत्रको रुपान्तरणमा ठूलो सहयोग गरेको छ । त्यसैगरी नेपाली सञ्चार माध्यमहरु अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु, स्याटेलाइट प्रयोग, अत्याधुनिक प्रविधिमा रुपान्तरण हुँदै विश्व बजारमा प्रतिस्पर्धी हुनु आफैमा एक उल्लेखनीय पक्ष हो–नेपाली आमसञ्चारको । यसैबीच नेपाली पत्रकारितामा आवश्यक जनशक्तिको क्षमता र दक्षता पनि बढी व्यवसायिक बन्दै गएको देखिन्छ । आमसञ्चार सम्बन्धी कलेज÷विद्यालय, तालिम केन्द्रहरुको बढ्दो मागले पनि यस क्षेत्रको विकासलाई नै संकेत गर्छ । तर यससँग दुईवटा महत्वपूर्ण पक्ष उठान गर्छ । पहिलो, जति मात्रामा आमसञ्चार सञ्चालनमा छन्, के त्यो आवश्यक छ ? वा यस सम्बन्धी कुनै नीति/योजना ल्याएर तिनलाई समयमा नै नियमन गर्नु जरुरी छ ।  दोश्रो, प्रविधिमा द्रुदतर गतिले अगाडि बढ्दै गरेको नेपालको आमसञ्चारले ‘कन्टेन्ट’ कति जनमुखी बनाउन सकेको छ ? हाम्रा समस्याको उठानमा यो क्षेत्र कत्तिको संवेदनशील छ ? समावेशीताको मुद्धाको शब्द उच्चारण गर्ने यी माध्यमका प्रस्तुती र त्यहाँको व्यवस्थापन कत्तिको समावेशी छ त ? यस्ता धेरै प्रश्नहरुको आधारमा मापन गर्ने हो भने नेपाली पत्रकारिताको विकास र परिवर्तनमा अझै निकै प्रश्न उठाउने ठाउँ छन् । तथापि प्रविधिको यो विकासलाई ‘कन्टेन्ट’ को रुपान्तरणसँग जोड्ने हो भने यो क्षेत्रको साँचो अर्थमा विकास मान्न सकिन्छ । 

हाम्रो समाजमा परम्परागत रुपमा नै हरेक अभिभावक आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर वा सरकारी कर्मचारीका रुपमा हेर्न चाहन्छन् । अहिले त्यसको दायरा केही फराकिलो होला । तर पत्रकारिता अझैपनि अधिकांश अभिभावकको पहिलो रोजाइ बन्दैन । यो पृष्ठभूमिबीचमा मेरो प्रश्न के भने, के हरेक डाक्टर, इन्जिनियर वा पाइलट त्यतिकै सफल छन् त ? के कुनै पनि पत्रकारले आकर्षक र प्रेरणादायी स्थान बनाउन सकेको छैन त ? जवाफ आफैमा छर्लङ्ग छ । त्यसैले सबैभन्दा पहिले त हरेक अभिभावकले आफ्ना सन्तानको क्षमता बृद्धिमा अवसर दिने, उसको पेशा वा करियर उसको छनौटको हुनुपर्छ । अभिभावकले सल्लाह र साथ दिनुपर्छ, निर्णय होइन । 

अझैपनि नेपाली पत्रकारिता क्षेत्रमा ढुक्क भएर आफ्ना छोराछोरीलाई आउन प्रेरित गर्ने अभिभावकहरुको कमी देखिन्छ । तपाईको धारणा के छ ? 
कुनैपनि व्यक्तिले आफ्नो जीवनमा कुन करियर छनौट गर्ने भन्ने कुरा उसको रुची र क्षमतामा निर्भर गर्छ । त्यसैले राम्रो संस्कार र शिक्षा दिने कर्तव्य अभिभावकको कर्तव्य पक्कै होला । तर करियर छनौटको अधिकार भने आफ्ना छोराछोरीलाई दिएको वेश । हाम्रो समाजमा सानैदेखि नै आफ्ना सपना, आफूले पूरा गर्न नसकेका चाहना सन्तानबाट प्राप्त गर्ने उद्देश्य नै राखेका हुन्छन् र त्यसको बोझ आफ्ना सन्तानलाई बोकाउँछन् । हाम्रो समाजमा परम्परागत रुपमा नै हरेक अभिभावक आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर वा सरकारी कर्मचारीका रुपमा हेर्न चाहन्छन् । अहिले त्यसको दायरा केही फराकिलो होला । तर पत्रकारिता अझैपनि अधिकांश अभिभावकको पहिलो रोजाइ बन्दैन । यो पृष्ठभूमिबीचमा मेरो प्रश्न के भने, के हरेक डाक्टर, इन्जिनियर वा पाइलट त्यतिकै सफल छन् त ? के कुनै पनि पत्रकारले आकर्षक र प्रेरणादायी स्थान बनाउन सकेको छैन त ? जवाफ आफैमा छर्लङ्ग छ । 
त्यसैले सबैभन्दा पहिले त हरेक अभिभावकले आफ्ना सन्तानको क्षमता बृद्धिमा अवसर दिने, उसको पेशा वा करियर उसको छनौटको हुनुपर्छ । अभिभावकले सल्लाह र साथ दिनुपर्छ, निर्णय होइन । 
त्यसैले व्यक्तिगत रुपमा म कसैलाई यो क्षेत्रभमा रुची छ भने आउनुहोस् भनेर स्वागत गर्छु र, यो पनि यहिँनेर जोड्न चाहन्छु कि मैले मेरो यो करियर रोज्नु, मेरो जीवनकै एक महत्वपूर्ण फैसला थियो । 

पत्रकारितामा लागेर गर्न सकिने मुख्य कार्यहरु के–के हुन् ? यसले समाजलाई के दिन सक्छ ? 
पत्रकारिता आफैमा एक बहुआयामिक क्षेत्रसँग जोडिएको बिषय हो । अनि यसमा समयको धेरै ठूलो महत्व हुन्छ । यो पेशामा एक व्यक्ति समाजको सिमान्तकृत व्यक्ति र क्षेत्रदेखि देशकै सर्वाेच्च शक्तिशाली क्षेत्रसँग जोडिन पुग्दछ । उसले लेखेका शब्दहरु, बोलेका आवाज र प्रस्तुत दृश्यहरु जनमानसको जीवनसँग जोडिन पुग्छ । एक पत्रकारले उठाएको आवाजले शक्तिशाली वर्गलाई नियमसंगत र इमान्दार हुन दबाब दिन्छ । यसरी दुई फरक धार बीचको माध्यम एक पत्रकारले सुसमाज र देश विकासको हरेक क्षेत्रमा एउटा पथप्रदर्शकको भूमिका निर्वाह गर्न सक्दछ । सही समस्याको उजागर र सम्बन्धित सरोकारवालाहरु त्यसप्रति ध्यानाकर्षण र दबाबले धेरै परिवर्तन सम्भव भएका छन् । साथै हाम्रो जस्तो कम विकसित मुलुकमा त धेरै बिषयमा जनचेतना जगाउनु पर्नेछ । अधिकार र सुविधाप्रति जनमानसलाई सजग बनाउनु छ । एक अर्थमा जनताको जान्न पाउने अधिकारमा पत्रकारहरुले माध्यम बन्नुपर्छ । हाम्रो देशमा त २०६२/०६३ पछि यति धेरै कानुन र संस्थागत रुपमा पनि आमूल परिवर्तन भएको छ । यस बारेमा स्वयं कतिपय पदाधिकारीहरु समेत अनविज्ञ रहेको देखिन्छ । यस बारेमा जनमानसमा पनि अन्यौलता नै छ । यहाँ धेरै यस्ता बिषयहरु छन्, जुन विस्तारका लागि सञ्चार माध्यम नै एक प्रकारको सर्वसुलभ, सस्तो र उपयुक्त छन् । त्यसैले थोरै शब्दमा भन्ने हो भने समस्याको उठान, जनताका आवश्यकताको पहिचान गरी बाहिर ल्याइदिने देखि शक्ति संरचनामा दबाब र ध्यानाकर्षण गर्ने र विद्यमान ऐन, कानुन, व्यवस्था, सुविधा, नीति लगायतका हरेकको जीवनमा फरक पार्ने सूचना र जानकारी प्रवाह गरी, स्वस्थ र सन्तुलित समाज रुपान्तरणमा पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । 

तपाईलाई पत्रकारितामा लागेर के कुराचाहिँ प्राप्त गरेजस्तो लाग्छ ? 
पत्रकारितमा प्रवेश गरेर सबैभन्दा ठूलो उपलब्धी त मैले नेपाली समाजको रेशा रेशालाई बुझ्न, अध्ययन गर्ने अवसर पाएँ । वास्तविक नेपाली समाज, नेताका भाषण, गीतका वाक्यांश, कविता र अन्तरवार्तामा प्रस्तुत गरिने चित्रभन्दा फरक छ भन्ने मैले महसुस गर्न पाएँ । कर्णालीका एक बालिकाको मर्म र सप्तरीको मुसहरको संघर्ष अनि बाजुराको युवाको सपना कसरी अनायाशै टुट्छ भन्ने वास्तविकता देख्न पाएँ । अनि शक्ति र सत्तामा हुनेहरुले फेरि तिनकै मर्म, संघर्ष, र सपनालाई, तिनीसँगै ‘वेचेर’ कसरी झन् शक्तिशाली हुन्छन् भन्ने नमिठो सत्य पनि खुलेआम देख्ने ‘सौभाग्य’ पनि मलाई यहि पत्रकारिताले दियो । तर यो पृष्ठभूमिमा सबैभन्दा महत्वपूर्ण कुरा मलाई ‘आवाज विहीनहरुको आवाज’ बन्नुपर्छ भनेर यहि पत्रकारिताले सिकायो । इमान्दार प्रयास, अनवरत लागीराख्नुले ‘त्यो क्षेत्रमा’ फरक पार्न सकिन्छ भन्ने शिक्षा पनि मलाई यहि पत्रकारिताले दियो । यो यात्रामा बाधा, अवरोध, प्रलोभन, डर, त्रास, धम्की अनेक आउछन्, तर लक्ष्य प्रतिको दृढ निश्चयले तनी सबै पछाडि र आफू अगाडि हुन सकिन्छ भन्ने मन्त्र पनि मलाई यहि पत्रकारिताले दियो । यो सब त्यतिबेला सम्भव हुँदो रहेछ, जब आफ्नो काम गराईलाई ‘जागिर’ हैन ‘उद्देश्य सहितको कर्म’ का रुपमा स्वीकारिन्छ, यो शिक्षा पनि मलाई यहि पत्रकारिता कर्मले दियो । 
त्यो सबैभन्दा माथि–मलाई मेरा दर्शकहरुको यति धेरै विश्वास–माया–सम्मान प्राप्त भएको छ कि, म आफूलाई संसारकै सबैभन्दा धनी ठान्छु । अनि यहि पेशाले मलाई मेरो नाम सहितको मेरो परिचय दिएको छ । त्यो भन्दा धेरै त एक व्यक्तिलाई अरु के नै चाहिन्छ र ? 

पछिल्ला दिनहरुमा नेपाली पत्रकारिता क्षेत्रमा महिलाहरुको सक्रियता सन्तोषप्रद पाउनुहुन्छ ? 
पछिल्लो समयमा नेपाली पत्रकारितामा महिलाहरुको रुची र प्रवेश बढ्दो छ । यो उत्साहजनक कुरा हो । तर जहाँसम्म पत्रकारिता क्षेत्रमा महिलाको सक्रियता सन्तोषप्रद छ ? भन्ने प्र्रश्न छ–त्यहाँ पनि यो सन्दर्भलाई समग्र पत्रकारितासँग जोडेरै कुरा गर्न चाहन्छु, न कि महिलाको मात्रै । समग्रमा पत्रकारितामा पत्रकारको जस्तो सक्रियता छ, महिलाहरुको पनि त्यस्तै छ । सडकदेखि सदनसम्म, प्रविधिका क्षेत्रदेखि ‘कन्टेन्ट’ उत्पादनमा समेत महिलाहरुको संख्यात्मक र गुणात्मक प्रभावकारिता बढ्दो छ । यद्यपि, अझै महिलाहरुको संख्या न्यून नै छ । एक त यो क्षेत्रमा प्रवेशमा नै महिला कम अर्काे पेशालाई निरन्तरता दिन नसक्नु पनि चुनौती छ । यसका केही महत्वपूर्ण कारणहरु छन् । जसमध्ये यो पेशामा व्यवसायिक सुरक्षा छैन । जसमा पारिश्रमिक देखि काम गर्ने ठाउँ कति लैङ्गिकमैत्री छ भन्ने कुरा आउछ । अझैपनि हाम्रो आम सञ्चारहरुमा नियमित र उपयुक्त पारिश्रमिक प्रश्नकै घेरामा छ भने महिलाका निम्ति अरु लैङ्गिकमैत्री वातावरणको त कुरा छोडौं–धेरै ठाउँमा छुट्टै शौचालय समेतको व्यवस्था छैन । मिडिया हाउसहरुमा लैङ्गिक संवेदनशीलताको अभावले सिर्जित समस्याका कारण पनि धेरै पत्रकार महिलाहरुले पत्रकारिता छोड्नु परेको अनुभव हामीसँग छ । त्यसदेखि बाहेक ‘त्यो भन्दा’ राम्रो ठाउँमा जनाका लागि पनि पत्रकारिता माध्यम बनिदिन्छ त्यो सकारात्मक कुरा पनि हो । 
समग्रमा भन्दा अहिले दक्ष, शिक्षित महिलाहरुको पत्रकारितामा बढ्दो रुचिले सञ्चार माध्यममा प्रस्तुत हुने सामग्रीमा समेत फरक पर्दैछ । समावेशी कन्टेन्ट आजको हाम्रो आवश्यकता हो, जुन पत्रकार महिलाको समेत सहभागिताले फरक पर्दैछ,यो राम्रो कुरा हो । 

पत्रकारितामा आउन चाहनेहरुले मुख्य रुपमा के–के कुरामा ध्यान दिनु जरुरी छ ? 
पत्रकारिता अत्यन्तै महत्वपूर्ण र शक्तिशाली पेशा हो । यसको सदुपयोग वा दुरुपयोग, यो शक्ति कसको हितमा प्रयोग गर्ने भन्ने कुरा एक पत्रकारको कलम र बोलीमा निर्भर हुन्छ । अनि उसको बोली र कलम उसको सोचबाट सञ्चालित हुन्छ । महत्वपूर्ण कुरा हो–एक पत्रकारको सोच कसबाट सञ्चालित छ ? एक सञ्चारकर्मीले धेरै पक्षको कुरा बुझ्नुपर्छ, सुन्नुपर्छ, अनुसन्धान गरी तथ्य पत्ता लगाउनुपछ्र्र – उ कसैको नभइ सत्यको पक्षमा उभिइ यो सबै काम गर्नु उसको पहिलो धर्म हो र प्रस्तुतीमा पनि उ पक्षविहीन हुन सक्नुपर्छ । यहिनेर पछाडि पारिएका वर्ग, लिङ्ग, जात, समुदाय, सिमान्तकृत र अल्पसंख्यकको पक्षमा भने पत्रकार उभिन सक्नुपर्छ । 
पत्रकारितामा आएका वा आउन चाहने हरेकले पत्रकारिताको यो मर्मलाई बुझेर आउनु प¥यो । तलब वा पैसा मात्रै लक्ष्य हो भने कृपया यो पेशामा नआउनुहोला भन्न चाहन्छु । यो पेशामा त अनवरत मिहिनेत, इमान्दारिता र संवेदनशीलताका साथै आँट र साहस पनि चाहिन्छ । 
हुन त यी पक्षहरु सबै पेशा र व्यवसायमा आवश्यक छन्– तर पत्रकारिताको प्रभाव तत्काल र बढी हुनाले हामी हर क्षण सतर्क हनु भने आवश्यक छ । साथै पत्रकारितामा प्रवेश गर्दा यस सम्बन्धी आवश्यक शिक्षाको अध्ययन गर्नु राम्रो हुन्छ । आवश्यक शिक्षा, तालिम र सीपका साथै केही गरेर देखाउन चाहने हरेकलाई यो पेशा उर्वर भूमि हो भन्न चाहन्छु । यहाँ जति चुनौती त्यो भन्दा बढी सम्भावना र त्यो भन्दा बढी फरक पार्न सकिने क्षेत्रहरु हरेकको पखाईमा छन् । 

वरिष्ठ सञ्चारकर्मी चटौत लैङ्गिक विश्लेषकका साथै  नेपाल टेलिभिजनमा कार्यक्रम निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ ।