आईकेकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते हुने

अनन्त सन्देश

२०७६ जेष्ठ ११, शनिबार


भक्तपुर । नेपालमा पहिलो संस्करणको मेयर कप आई.के.के.एफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ ।

आयोजक नेपाल इन्टरनेसनल क्योकुशिनकाई कराँते संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १३ र १४ गते हुने जानकारी गराएको छ ।

भक्तपुरको दुई पोखरी थिमीमा आयोजना हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीको बसोबास,खाना तथा खाजा खर्च आयोजकले व्यहोर्ने आई.के.के.एफको नेपाल प्रमुख तथा प्रतियोगिता संयोजक राम श्रेष्ठ (बोस) ले जानकारी गराए ।

प्रतियोगितामा नेपाल र विदेशका गरि २ सय बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको पुरुषतर्फ ३५, ४०, ५०,६० केजी मुनि र ६० केजी माथि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४५ केजी मुनी र ४५ केजीमाथि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेतालाई पदक, शिल्ड, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ ।