समुन्द्र माथि चीनले बनाएको ५५ किलोमिटर लामो पुलको कथा

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ १३, सोमबार


कृष्ण तिमल्सिना

बेईजिङ । पूर्वाधार निर्माण, प्रविधि विकास र आर्थिक सम्बृद्धिका क्षेत्रमा पत्याउनै नसक्ने विकास गरिरहेको चिनले पुनः समुद्रमाथि संसारकै लामो पुल बनाएर दुनियाँको ध्यान आफूतिर तानेको छ । चिनियाँ राष्ट्रपति सी चीन फिङले उद्घाटन गरेको यो पुलले हङकङ र मकाउलाई चिनको मुख्य भूमि चुहाईसँग जोडेको छ । अहिले सञ्चालनमा आईसकेको ५५ किलोमिटर लामो यो पुलको २२.९ किलोमिटर भाग समुद्रमाथि छ भने ६.७ किलोमिटर समुद्रमुनि टनेल बनाएर जोडीएको छ । यसरी समुन्द्र मुनीको टनेल अर्थात सुरुङ मार्गलाई जोड्नका लागि चिनले यही क्षेत्रमा दुई वटा कृत्रिम टापु समेत बनाएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, सन् २००९ मा निर्माण सुरू गरिएको यो पुल निर्धारित समयभन्दा २ वर्ष ढिला गरी यही वर्षको जनवरीमा सम्पन्न भएको हो । जुने पुल बनाउने क्रममा एक जना नेपाली सहित दश जना कामदारले ज्यान गुमाएका थिए भने ६०० जना घाइते भएका थिए । ‘रगत र पसिनाको परियोजना’ मानिएको यो पुलमा काम गर्ने क्रममा २०७३ चैतमा समुद्रमा खसेका अरनोल गुरुङको मृत्यु भएको थियो । यो पुल निमार्णमा हङकङ्गमा बस्ने सयौं नेपाली खटिएका थिए ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपथ्र्यो तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको छ, चीनीयां अधिकारीहरुले भनेका छन् । जुन पुलबाट अहिले हरेक दिन करिब ४० हजार गाडी आवत–जावत गर्ने गरेका छन् । चिनियाँ अधिकारीहरु भन्छन्–समुद्रमाथि बनेको संसारकै लामा ४ वटा पुल चीनमै रहेका छन र अर्को एउटा पूल ताइवानमा बनेको छ । ताइवान पनि चिनकै स्वसासीत क्षेत्र हो । यो पुल बनाउन कूल १२० अर्ब युआन खर्च भएको चीनको अर्थमन्त्रालयले सार्वजनीक गरेको विस्तृत विवरणमा उल्लेख छ । जुन निमार्ण खर्च हङकङ, मकाउ र झुझाइले संयुक्त रुपमा व्यहोरेका छन् । सन् २००३ मै तयार भएको यो पुलको अवधारणा कार्यान्वयनमा ल्याउन निकै कठिन भएको र अन्ततः सन् २००९ मा पूल निर्माण शुरु गरिएको चीनको झुझाइ क्षेत्रका अधिकारीहरुले बताएका छन् । जुन पुल सञ्चालनमा आएपछि आर्थिक विकासमा एउटा महत्वपूर्ण आयाम थपिएको छ र तीनवटै शहरमा आवत जावत गर्न घण्टौं लाग्ने यात्राको दुरी बढीमा एक घण्टामा छोटिएको छ । चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यो पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । १२० वर्षभन्दा बढी आयुको यो पुलले ८ रेक्टर स्केलको भूकम्प संगै कडा समुद्री आँधीलाई थेग्न सक्छ ।
 

यो पुल बनाउन इन्जिनियरहरुले सुरुमा विशाल समुद्रभित्र चारवटा कृतिम टापु बनाएका थिए । जसको माध्यमबाट यो पुलको संरचना  जमिनसँग जोडिएको छ । त्यसैले यो पूललाई समुद्रका ठूला छाल र आँधीले कुनै असर नपार्ने दावी प्राविधिकहरुले गरेका छन् । हङकङ–चुुहाई–मकाउ पुल प्राधिकरणका सहनिर्देशक यू लीका अनुसार यो पुल निर्माणमा करिब १४ हजार मजदुर खटिएका थिए । सामान ओसारपसार गर्न समुद्रमा ३०० जहाज परिचालन गरिएको थियो । हङकङ–चुहाई–मकाउ पुल प्राधिकरणका सहनिर्देशक यू ली भन्छन्– यो छ लेनको पुललाई यस्तो किसिमले बनाइएको छ कि मकाउ–हङकङ र झुझाईको यातायात बिना कुनै रोकावट चलिरहने छ । पुल निर्माणको क्रममा इन्जिनियर र कामदारले पुलको करिब ६ दशमलव ७ किलोमिटर लामो हिस्सामा ३०–४० मिटरभित्र गहिराइमा रहेर काम गरे, यो निकै चुनौतीपूर्ण थियो ।

हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यो पुलमार्फत हङकङ र मकाउसँगको सम्वन्धलाई थप प्रगाढ बनाएको छ । अधिकारीहरुका अनुसार सन् १९९० देखि चीनको नियन्त्रणमा रहेको हङकङ र मकाउका जनतासंगको सम्वन्ध र अर्थतन्त्र माथिको नियन्त्रणलाई यो पूलले अरु बलियो बनाएको छ । हामी ‘एक देश, दुई प्रणाली’ को सिद्धान्तमा चलिरहेका छौं । उनीहरुले ५० वर्षसम्म चीनबाट स्वतन्त्र रुपमा आफ्नो सरकारी तन्त्र चलाउने अनुमति पाएका छन् र आर्थिक सम्बृद्धिको यात्रामा हामी संगसंगै छौं, हङकङ–चुुहाई–मकाउ पुल प्राधिकरणका सहनिर्देशक यू ली को भनाई छ । गत २४ अक्टोबरदेखि सञ्चालनमा आएको यो पुल बनाउन हङकङको मात्रै १२० अर्ब हङकङ डलर खर्च भएको छ । हाललाई नीजि सवारी साधनबाट यात्रा गर्न १७५ हङकङ डलर पुल शुल्क तोकिएको छ र हङकङको यातायात विभागले सन् २०३० सम्ममा प्रतिदिन २९ हजार सवारी साधन यो पुलबाट गुड्ने प्रक्षेपण सार्वजनीक गरेको छ । समुन्द्र मार्ग हुँदै हङकङ, मकाउ र मेनल्यान्ड चाइना जोड्ने यो पुल
 

सर्प आकारमा बनाइएको छ र अन्डरवाटर टनेलले हङकङको लान्टाउ टापुलाई चुनहाइसँग जोडेको छ । यस्तै, मकाउको ग्याम्बिल्ङ इन्क्लेभबाट प्रेल रिभर ईस्टकासी सम्म यो पुल संचालीत छ । २० अर्ब डलरको लागतमा ९ वर्ष लगाएर समुन्द्र माथी निर्माण गरिएको सबै भन्दा लामो पुल निर्माणसँगै चीनबाट हङकङले धान्न नसक्ने गरी पर्यटक ओहोर–दोहोर गर्न थालेका छन् । यसले यो क्षेत्रको आर्थिक गतिविधिलाई अरु चलायमान बनाएको छ ।  हङकङ–झुहाई–मकाउ पुल परियोजनाका सहायक निर्देक गुओ जिङ–लिनले यो पुल निर्माण सम्पन्न हुँदा निकै गर्व महसुस भएको बताएका छन् । चीनको ग्वांगदोंङ प्रान्तलाई हङकङ र मकाउ सँग जोडने यो पुलमा अहिले उन्नत किसिमको फाइभ जी इन्टरनेट सेवा जडानको प्रक्रिया चलिरहेको छ । जुन पुलको बारेमा कैयन रोचक पक्षहरु छन् । पुलमा गाडी चलाउने चालकको मुटुको रफ्तार र ब्लड प्रेसरको निगरानी निरन्तर हुनेछ । जुन सुचना पुलको कन्ट्रोल सेन्टरमा पुग्नेछ । गाडि चलाइरहेका ड्राइभरमाथि पनि क्यामेराको निगरानी हुनेछ । यदी कुनै चालककले २० सेकेण्डभित्र तीन पटकभन्दा बढी हाई गरेमा ‘हाई निगरानी क्यामेरा’ ले खतराको सुचना दिने प्रविधि जडान गरिएको छ । 

पुलले चिनियाँ स्वशासित क्षेत्र हङकङ र मकाउलाई चिनियाँ मुलभूमीको अझ नजिक ल्याई दिएको छ तर सुरक्षा संवेदनशीलताका कारण चुनिएका मानिस र सवारीले मात्र यो पुलमा पहँुच पाउनेछन् । हङकङका जनताले विशेष परमिट लिएर पुल पार गर्न पाउने छन् । हङकङबाट चुहाई प्रवेश पाउन चीनलाई उलेख्य कर बुझाएको, चीनको दक्षिण प्रान्त ग्वाङदोङ क्षेत्रमा ठूलो रकम अनुदानमा दिएको र थुप्रै मध्य एक राजनीतिक संगठनको सदस्यता रहेको व्यक्तिले दीर्घकालिन विशेष परमिट पाउने छन् । सार्वजनिक यातायात नचल्ने यो पुलबाट यात्रा गर्न अन्यले भने तोकिएको निजी बस प्रयोग गर्नुपर्ने छ । अधिकारीहरुका अनुसार, यो पुल, हङकङ र मकाउलाई चीनको दक्षिणी क्षेत्रमा रहेको ११ शहरसँग जोडेर एक हाई–टेक क्षेत्र निर्माण गर्ने अभियानको हिस्सा हो । ‘ग्रेटर बे एरिया’ नाम दिएको यो क्षेत्र अमेरिकाको चर्चित सिलिकन भ्यालीलाई प्रतिस्पर्धा दिन सक्ने गरी बनाइँदैछ । यो पुल सञ्चालनमा आउनु पहिले चिनियाँ मूलभूमिसँग हङकङ तीव्र गतिको रेलमार्गले जोडिएको थियो । यसले हङकङको चीनसँगको समायोजनको गति अरु बढाएको छ । जसले विश्वलाई चकित पारेको छ भने चीनले समुन्द्र माथि प्रविधि र प्रकोप मैत्री पुल बनाएर मुलुकको अर्थतन्त्रमा अर्को बिशाल फड्को मारेको छ ।

तिमल्सिना भर्खरै चीनको अध्ययन भ्रमण गरेर फर्कनुभएको हो ।