हनुमन्ते सरसफाइ जिल्लाको गौरव : सांसद बस्नेत

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ २२, बुधबार


भक्तपुर ।  प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले हनुमन्ते नदी सफाईले भक्तपुरको गौरव बढाएको बताउनुभएको छ । 

४६  औं विश्व वातावरण दिवसका अवसरमा जिल्लामा आयोजित कार्यक्रममा बोल्दै सांसद बस्नेतले हनुमन्ते नदीको सफाई अभियान समग्र भक्तपुर सफाईको विशेष अभियानको रुपमा सञ्चालन गरिएको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘हामीले के गरिरहेका छौं भन्ने कुरा ठूलो हो, जवाफ ठूलो हैन, समाजको उन्नती, प्रगति तथा समृद्धि बनाउने अभियान नै मूख्य कुरा हो ।’

कार्यक्रममा आफ्नो वरिपरिको वातावरण स्वच्छ राख्ने दायित्व हामी आफ्नो भएको धारणा राख्दै बस्नेतले सफाइ सम्बन्धी प्रतिबद्धता मात्र होइन, त्यसलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘अहिले हामीले हनुमन्ते नदी मात्र सफा गरेका छैनौ, मन, भावना र वचन सफा गर्ने अभियान समेत चलाएका छौं ।’ 

उहाँले रोजगार दाता, करदाता र, श्रमलाई सम्मान नगर्नेले मुलुकलाई सम्मान गर्न नसक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सभ्यताको विकास गर्ने जनमानस नभएसम्म मुलुकको हित हुँदैन । वातावरण, खोलालगायतका सफा गर्ने कुरामा मन, प्रयोग गर्ने साधन सफा गर्नु आवश्यक रहेको छ । मुलक समृद्ध बताउन वातावरण, भुगोल खोला सफा गर्ने कुरामा मात्र सीमित हुनु हुँदैन । हाम्रो मन सफा गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’

उहाँले समाजिक सञ्जालको दुरुपयोग गरी समाजमा विभिन्न प्रकारका विकृतिहरु हुने गरेको बताउँदै आगामी दिनमा त्यसलाई रोक्ने प्रकारको अभियान समेत सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो ।