सरकार हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढिरहेको छ–प्रम ओली

रमेश गिरी
रमेश गिरी

२०७६ जेष्ठ २४, शुक्रबार


भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ । 

आज भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,‘रोजगारीका लागि विदेशमा ४० लाख युवाहरु भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेहरुलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।’

यो महाअभियानको भव्य सुरुवात भएको बताउदै उहाँले यो कुनै गोष्ठी नभई कामबाटै सुरु भएको अभियान भएको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको बताउदै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताउनुभयो । 

काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउदै उहाँले सबैलाई देश मै रोजगारी दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको बताउदै देशमा अब कोही पनि भोकै बस्नु पर्ने र भोकले मर्नु पर्ने अबस्थाको अन्त्य हुने बताउनुभयो । 

सरकारले बालकदेखि जयेष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम अभियान संचालन गरेकाले अब कसैलाई समस्या नपर्ने उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले सरकारले सुरु गरेको महान अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको भन्दै अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको टिप्पणी गर्नुभयो । 

उहाँले मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्नेहरु पनि सक्रिय रहेको भन्दै हिंसा र आतंक तर्फ लागेको तत्वहरु सफल नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले २०४ वर्ष देशलाई अध्यारोमा राख्ने राजतन्त्र फेरी चाहियो भन्ने मुर्खसमेतको केही नलाग्ने बताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आवद्ध भएका युवाहरुलाई सावेल लगायत उपकरण हस्तान्तरण गर्नुभएको थियो । 
 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउदै चालू आर्थिक वर्षमा आंशिक रुपमा यो कार्यक्रम संचालन भएपनि आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिनेगरि देशैभरि यो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको भनाई राख्नुभयो ।बस्नेत र नगरप्रमुख, जनप्रतिनिधि एवं सूचिकृत भएका रोजगार प्राप्त दस्ताले आजै सडक खनेर कामको सुरुवात गरेका छन् । 

त्यसअवसरमा प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले सरकारले रोजगार कार्यक्रमका लागि भक्तपुरका चारवटा नगरपालिकामा २ करोड ४६ लाख रुपैया बजेट पठाएको बताउनुभयो । 

उहाँले आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तह मै बेरोजगार सूचीमा रहेका नागकिरलाई काममा परिचालन गर्ने बताउनुभयो । 

सरकारले रोजगार बैंकको स्थापना गर्दै बेरोजगार युवाहरुको तथ्याङ्क अनुसार योग्यतामा आधारित रोजगार दिने कार्य गर्नुपर्नेमा जोड दिदै कृषिमा मात्रै १२ लाख, भवन निर्माणको क्षेत्रमा ७ लाख भन्दा बढी युवालाई रोजगार दिन सकिने बताउनुभयो ।  

त्यसअवसरमा प्रदेश नं. ३ का प्रदेश सदस्य सांसद रजनी जोन्छे, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव महेश्वर दाहाल, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका बासुदेव थापा, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ, यो कार्यक्रमबाट जिल्ला जिल्लामा रोजगारीको ढोका खुलेको चर्चा गर्नुभयो ।

कार्यक्रमबाट भक्तपुरका करिब ७ सय ५० बेरोजगार युवालाई रोजगारी पाएका छन् । करिब १ हजार ५ सय युवाहरुले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगरप्रमुख, जनप्रतिनिधि एवं सूचिकृत भएका रोजगार प्राप्त दस्ताले आजै सडक खनेर कामको सुरुवात गरेका छन् ।