श्रमको सम्मान गर्न सिकौं   

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ २५, शनिबार


महेश बस्नेत

हामीले बर्षको एक पटक मनाउने गरेको विभिन्न उत्सव, चाड जस्तै एक युगमा एक पटक आउने सारा युवाहरुलाई रोजगार दिने प्रधानमन्त्री युवा रोजगार कार्यक्रम आएको छ । यसलाई कसैले पनि आलोचनाको बिषय बनाउनु भनेको पूर्वाग्रही सोच बाहेक अरु केही होइन । 

नेपाल सरकारले युवाहरुका निम्ति लक्षित गरेर घोषणा गरेर भन्यो, ‘तपाई नेपालमा काम गर्न चाहनुहुन्छ भने विदेश जान आवश्यक छैन । सोही मुताविक भक्तपुरमा मात्र २ करोड ४६ लाख बजेट विनियोजन गरेको छ । यसबाट प्रत्येक बेरोजगार युवाहरुले कम्तिमा पनि दैनिक ७ सयका दरले पारिश्रमिक पाउने सुनिश्चितता भएको छ । यसको अर्थ अब भक्तपुरमा वेरोजगार युवाहरुले काम पाइएन भनेर बस्नुपर्ने अवस्था छैन । यसको सुरुवात हामीले गरिसकेका छौं । 

आउँदो असार १ गतेदेखि प्रत्येक वडामा सम्बन्धित वेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्नेछ । विशेष गरेर नेपाल सरकारको यो अभियानले श्रमलाई सम्मान गर्नलाई प्रेरित पनि गरेको छ । आज श्रमप्रतिको हाम्रो सम्मान गुमेको अवस्था छ । एउटा युवा सडकको सरसफाइ गर्दा आफ्नो मुख छोपेर गर्छ, कुनै चिनेको मान्छे देखिन्छ कि भन्ने उसलाई चिन्ता छ । उसको मनोविज्ञानले कामलाई सम्मान भन्दा पनि सामाजिक वातावरण र परिवेशले के भन्छ भन्नेमा बढी केन्द्रित छ । आज एउटा होटल म्यानेजमेन्ट पढेको युवा आफ्नो क्षेत्रको होटलमा काम गर्दैन, त्यहाँ पनि उसलाई कुनै चिनेको मान्छेले गिज्याउँछ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ । बरु यही काम गर्न उ कतै अपरिचित ठाउँमा जान तयार छ । आज एउटा पुरुष घरमा पानी बोक्दा अरुले केही भन्छन् कि भन्ने मानसिकताले ग्रसित छ । यहाँ लैङ्गिक विभेदको सोचबाट उ ग्रसित छ । जबसम्म यस्ता सोच र चिन्तनको अन्त्य गर्न सक्दैनौ, तबसम्म सामाजिक रुपान्तरण गरेर समाज बदल्न असम्भव छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमले भक्तपुरको समृद्धि र विकासमा केन्द्रित योजनालाई कार्यान्वयन गर्नेछ । स्थानीय तहमा निर्माण हुने बाटो, पुल, पुलेसा अनि मठमन्दिरको सरसफाइ देखि यसको संरक्षण र निर्माणमा समेत यसमा सहभागी हुने युवा जनशक्ति परिचालित गरिनेछ । यहाँको सिचाई, खानेपानी, कृषि तथा उद्योग व्यवसायलाई समेत स्थापना गर्नको निम्ति युवा जनशक्ति परिचालित गर्न सकिनेछ । भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयोजना हुने गतिविधिहरुलाई उदाहरणीय रुपमा प्रस्तुत गर्नको निम्ति प्रयासरत रहेनेछौ । 

हामी सबै कुरालाई परिवर्तन गर्न चाहन्छौ । यो क्रममा हामीले हनुमन्ते सरसफाइ अभियान ६६ हप्तादेखि अगाडि बढाइरहेका छौं । हामीले हनुमन्ते सरसफाइ गरिरहँदा त्यहाँको फोहर मात्र उठाएका छैनौं । श्रमप्रतिको सम्मानलाई पनि जागृत गर्ने काम गरिरहेका छौं । 

प्रधानमन्त्री रोजगार कार्यक्रमले भक्तपुरको समृद्धि र विकासमा केन्द्रित योजनालाई कार्यान्वयन गर्नेछ । स्थानीय तहमा निर्माण हुने बाटो, पुल, पुलेसा अनि मठमन्दिरको सरसफाइ देखि यसको संरक्षण र निर्माणमा समेत यसमा सहभागी हुने युवा जनशक्ति परिचालित गरिनेछ । यहाँको सिचाई, खानेपानी, कृषि तथा उद्योग व्यवसायलाई समेत स्थापना गर्नको निम्ति युवा जनशक्ति परिचालित गर्न सकिनेछ । भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आयोजना हुने गतिविधिहरुलाई उदाहरणीय रुपमा प्रस्तुत गर्नको निम्ति प्रयासरत रहेनेछौ । 

त्यसो यो कार्यक्रम अन्तर्गत एउटा रोजगार बैंकको स्थापना गर्न सकिन्छ । जहाँ सिर्जनशील युवा जनशक्तिका निम्ति आवश्यक पर्ने योजना, लक्षित कार्यक्रम र सोही अनुरुपको परियोजनाहरु संकलन गर्न सकियोस् । त्यसको साथै काम गर्न चाहने युवाजनशक्तिहरुको क्षमता, उसको सिर्जनशीलता र सीप अनि दक्षतालाई समेत उक्त बैंकले सहजीकरण गर्न सक्दछ ।  

प्रविधिमा अभ्यस्त युवा जनशक्तिलाई उद्योग, व्यवसाय र रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भनेर सिर्जनशील बहस र छलफल चलाउनु जरुरी छ ।

अहिले हामीले भोगिरहेका समस्या भनेको उद्योगी व्यवसायीहरुले दक्ष कामदार पाउन छाडेका छन् भने काम छैन भनेर त्यसै बस्ने युवाहरुको संख्या उत्तिकै छ । हाम्रा गाउँघरमा बुढा भएका बाआमा काम गर्ने जनशक्ति नपाएर आफै काम गरिरहनुभएको छ । तर सोही घरको छोरा मेरो त काम छैन भनेर भौतारिरहेको छ । गाउँमा फलेको काउलीले बजार पाएको छैन भने शहरमा सञ्चालित होटलले बाहिरबाट तरकारी खोज्दैछन् ।  उसले कामलाई सम्मान गर्न चाहेन वा जानेन । यसमा उसको मात्रै दोष छैन । हामीले कुनै पनि कामलाई सम्मान गर्नुपर्दछ भने कहिलेपनि सिकाएनौ । काम जस्तोसुकै होस्, ठूलो वा सानो हुँदैन भनेर कहिलेपनि सिकाएनौं । त्यसैको प्रतिफल अहिल हजारौं नेपाली युवा जनशक्ति विदेश  पलायन भइरहेका छन् । 

हामीले कृषि क्षेत्रलाई मात्र व्यवस्थित गर्न सक्ने हो भने पनि १२ लाख युवाहरुलाई रोजगारी दिन सक्ने अवस्था छ । यदि हामीले निर्माण क्षेत्रमा युवाहरुलाई परिचालन गर्ने हो भने ७ लाख युवाहरुलाई रोजगारी दिन सक्ने अवस्था छ । अहिले हाम्रो घरमा रङ्ग लगाउने, प्लाष्टर गर्ने, विजुली वाइरिङ् गर्ने जनशक्ति छिमेकी मुुलुक भारतबाट ल्याइरहेका छौ भने हामीले सोही काम गर्न किन तयार नहुने ? हाम्रा उद्योगहरुमा काम गर्ने जनशक्ति विदेशबाट ल्याइरहेका छौं । हामीले उद्योग क्षेत्रमा मात्र समन्वय गर्ने हो भने थप ८ लाख युवाहरुलाई रोजगारी दिन सक्दछौ । यस्ता धेरै क्षेत्रहरु छन् जहाँ लाखौं युवाहरुलाई रोजगारी दिलाउन सकिन्छ । यसैलाई संयोजन गर्नको निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । 

हामीले युवा जनशक्तिलाई प्राविधिक र व्यवहारिक शिक्षा दिनु पनि आवश्यक छ । संख्यात्मक रुपमा पनि ठूलो हिस्सा नेपालमा युवा जनशक्ति रहेकाले पनि मुलुकको समृद्धि र विकासमा युवाहरुलाई सिर्जनात्मक विकासमा सक्रिय गराउनु अहिलेको आवश्यकता हो । सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को परिकल्पनालाई साकार बनाउन पनि युवा जनशक्तिलाई परिचालन गर्नु जरुरी छ । त्यसैले हामीले युवा जनशक्तिलाई कामप्रतिको सम्मान गर्न सिकाउनु जरुरी छ । आफूभित्रको कुण्ठा र आवेगलाई बढोत्तरी गराउँदै मुलुक र समाजप्रति आक्रोषित हुन प्रेरित गराउनु कुनै पनि हालतमा हितकर हुँदैन । 
 

बस्नेत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।