अधिकांशमा बाथ, नशा र हाडजोर्नीको स्वास्थ्य समस्या

अनन्त सन्देश
अनन्त सन्देश

२०७६ जेष्ठ २६, आईतबार


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १ मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशमा बाथ, नशा तथा हाडजोर्नीको स्वास्थ्य समस्या देखिएको छ । 

स्वर्गिय रुद्रबहादुर राउत स्मृति प्रतिष्ठान तथा सहित स्मृति आयुर्वेद हस्पिटलको आयोजनामा दधिकोट इङलिस स्कूलमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सहभागी ३७६ जनामा गरिएको स्वास्थ्य परिक्षणमा यस्तो समस्या देखिएको हो ।

प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको स्वास्थ्य शिविरमा  नशा तथा हाडजोर्नी, स्त्रीरोग, सामान्य चिकित्सा, पाइल्स तथा फिस्टुला जस्ता रोगको स्वास्थ्य परिक्षण गरिएको थियो भने क्राउन ल्याबरोटरी तथा रिफरल सेन्टरले आवश्यक रगत परिक्षण गरेको थियो । 

शिविरमा सहिद स्मृति आयुर्वेद हस्पिटलका डा.लक्ष्मण पौडेल, डा.प्रविना श्रेष्ठ, डा.प्रवेश खनाल, डा.धिरेन्द्र शाह तथा डा. रामगोपाल यादवको समूहले स्वास्थ्य परिक्षण गरेको थियो । यसैगरी स्वास्थ्य परिक्षण गरिएका विरामीलाई निःशुल्क औषधि वितरण गरिएको हस्पिटलका निर्देशक कल्याण भण्डारीले बताउनुभयो । 

शिविरबाट स्वास्थ्य सेवा लिनेहरुमा सूर्यविनायक नगरपालिका वडा नम्बर १ र ४ का अधिकांश जेष्ठ नागरिकहरु रहेको प्रतिष्ठानका सचिव राजेन्द्रबहादुर राउतले जानकारी दिनुभयो । 

आफ्ना स्वर्गीय पिता रुद्रबहादुर राउतको स्मृतिमा स्थापित प्रतिष्ठानले पहिलोपटक आयोजना गरेको स्वास्थ्य शिविरमा स्थानीयहरुको उत्साहपूर्ण सहभागिताले थप हौसला थपेको बताउँदै प्रतिष्ठानका अध्यक्ष देवीबहादुर राउतले भन्नुभयो, ‘निकट भविष्यमा नै हामी यस्तो खालको सेवा अन्य क्षेत्रमा पनि सञ्चालन गर्नेछौ ।’