२०७८ असोज ०१ शुक्रबार

देशको वर्तमान अवस्था चित्रण गरेको "अर्को अर्थ नलागेमा"

अनामनगर स्थित मण्डला नाटक घरमा यती बेला नाटक "अर्को अर्थ नलागेमा" मञ्चन भइरहेको छ l नाट्यकर्मी सुनिल पोखरेलको रूपान्तरणमा तयार पारिएको अर्को अर्थ नलागेका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको कान्तिपुर दैनिकमा हरेक शनिवार प्रकाशन हुने स्तम्भ हो l निर्देशक सुनिल पोखरेलको परिकल्पना र संयोजन रहेको यस नाटकलाई ‘ज्ञ’का १० जना विद्यार्थीहरूले निर्देशन गरेका हुन् । उनीहरूसहित ज्ञकै अरू विद्यार्थीहरूले अभिनय गरेका छन् । सामाजिक र राजनीतिक उथलपुथललाई कलममार्फत व्यंग्यात्मक शैलीमा उतार्ने शरच्चन्द्रको लेखमा आधारित यस नाटकमा कोरोनाकाल र त्यसपछिको राजनीतिक घटनाक्रम दर्साएको छ । करिब १० वटा भिन्न–भिन्न प्रसंग समेटीएर  बनाइएको यस् नाटकले  देशमा घटिरहेको पछिल्लो घटनालाई गतीलो झटारो हानेको छ। मङ्गलवारदेखि मञ्चन सुरु भएको नाटकमा 'कखग' भन्ने एउटा देशको वर्तमान अवस्था देखाइएको छ।अर्को अर्थ नलागेमा, दुरुस्तै नेपालकै जस्तो! डाँडाका टुप्पामा अग्ला-अग्ला भ्यू टावर बनाइँदै छ। स्कुल भत्केका छन्, खान नपाएर जनता मरिरहेका छन्, धनीहरू छन्, गरिबहरू छन्, धनी गरिबहरू छन्, गरिब धनीहरू छन्, ठ्याक्कै नेपालको जस्तो। अनि महाराजहरू छन्, मन्त्रीहरू छन्, सामाजिक दूरी बढ्दै छ l  “देशको भविष्य भ्यु टावरमा निर्भर छ । देशैभरि भ्यु टावर बनेपछि कुनै पनि कुराहरू भुईँबाट हेर्नु पर्दैन । हरेक भ्यु टावरमा देश–विदेशबाट पर्यटक ओइरिने छन् । भ्यु टावरमा देशको समृद्धि लुकेको छ । यो भ्यु टावरको आँखाबाट कोही पनि बच्न सक्दैन,” मञ्चमा उपस्थित एक कलाकार बोले l