२०७८ असोज ०१ शुक्रबार

गाम्चा साकोसको बहुआयामिक भवन उद्घाटन

गाम्चा बचत तथा ऋण सहकारी संस्थाले नवनिर्मित बहुआयामिक भवनको उद्घाटन गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरी भवन उद्घाटन गरेको हो ।

भक्तपुर, क्षेत्र नं २ का प्रनिनिधि सभा सदस्य महेश बस्नेतले भवनको उद्घाटन गरेको हुन् । भवन उद्घाटन पछि शुभकामना मन्तब्य राख्दै बस्नेतले गाम्चा सहकारी सदस्यहरुको छहारीको रुपमा विकास हुँदै गएको र सदस्यलाई आफ्नै भवनबाट सेवा प्रदान गर्नुले संस्था प्रगतिको पथमा अगाडि बढेको जनाए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले नेपालको संविधान २०७२ ले सहकारी संस्थाहरु पनि स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था गरेसँगै नगरपालिका भित्रका १२६ वटा संस्थाको अभिलेख आफूहरुले बुझेको र सहकारी संघसंस्थाका लागि आवश्यक ऐन नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याएको बताए । कुनै समय बैंक तथा वित्तीय संस्थाबाट सुविधा लिन हम्मे परेको अनुभव सुनाउँदै उनले समुदायमा सहकारीको उपस्थितिले अहिले सदस्यहरुलाई आवश्यक पर्दा ऋण लिन र ससानो रकम बचत गर्न धेरै सहज भएको बताए । अब सहकारी उद्यमशीलता समुदायप्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले नगरपालिकाले सहकारीलाई काम गर्न कुनै अंकुश नलगाउने तर सदस्यको बचतलाई भने जथाभावि गर्न नदिने जनाए । स्थानीय जनसमुदायले आफूलाई सहयोग गरेका कारण घोषणापत्रमा उल्लेख गरेभन्दा बढि शिक्षा, स्वास्थ्य र विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न सकेको थापाले बताए ।

कार्यक्रममा सहकारी बैंककी सञ्चालक सरिता तिमल्सिना भटराईले शुभकामना राख्दै पुँजी निर्माण, नेतृत्व विकास र महिला सशक्तिकरणमा उल्लेख्य भूमिका खेलेको बताइन् ।

नेफ्स्कुनकी सञ्चालक मन्दरा मिश्रले शुभकामना मन्तब्य राख्दै उद्यमशीलताको विकासमा सहकारी लाग्नुपर्ने बेला आएको बताइन् । त्यसैगरी गाम्चा सहकारीले धेरै महिलाहरुलाई समेटेकाले उनीहरुको आर्थिक स्तर वृद्धि गरी सबल बनाउन सुझाव दिइन् ।

संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति विकास खड्काले संस्था सञ्चालनका क्रममा विभिन्न आरोहअवरोह पार गर्दै यो स्थानसम्म आइपुगेको बताए । शुरुका दिनमा सामुदायिक भवनको एउटा सानो कोठाबाट कार्यालय शुरु गरेको र वर्षात्को समयमा संस्था डुबानमा समेत परेको स्मरण गर्दै उनले सदस्यको विश्वास र साथ सहयोगको कारण एकिकृत वित्तीय सेवा प्रदान गर्न बहुआयामिक भवन निर्माण गर्न सकेकोमा गर्व गरे ।

जन्मदेखि मृत्युसम्म, बालक देखि वृद्धसम्मलाई भन्ने नारालाई आत्मसात गर्दै संस्था अघि बढेको र समुदायका हरेक पक्षमा संस्था सक्रियताका लागिपरेको उनले बताए । सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरोन्नति गर्न संस्थाले विभिन्न बचत ऋणका साथै अन्य कार्यक्रमहरु समेत गर्दै आएको उनले उल्लेख गरे । संस्थाका सचिव विदुर खड्काले कार्यक्रमको सञ्चालन गरेका थिए ।