२०७८ असोज ०१ शुक्रबार

माधव नेपाल अर्काे पार्टी खोल्ने तयारीमा

काठमाण्डौ । आफ्नै पार्टीभित्र असहज वातावरण सिर्जना भएपछि अन्ततः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा जुटेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई पाखा लगाएर नै अगाडि बढ्न थालेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको हो । अहिलेको अवस्थामा माधव नेपालको निम्ति पनि गर वा मरको अवस्था सिर्जना भएको छ ।  प्रधानमन्त्री ओलीले संसद विगठन गरेर निर्वाचनमा जाने एकलौटी निर्णय गरेपछि रुष्ट बनेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुइँ चढेर सार्वजनिक रुपमै ओलीमाथि खनिएका थिए । त्यतिखेर सडक आन्दोलन गरेरै भएपनि ओलीलाई गलाउने र आफू प्रधानमन्त्री बन्ने दाउमा रहेका नेता नेपाल सर्वाेच्च अदालतको  पछिल्लो निर्णयपश्चात नेकपा एमाले पूर्ववत अवस्थामा पुनस्र्थापित भएपछि ओलीका सामु नेपाललाई ठाडो शिर गरेर फेस गर्न समेत मुस्किल परेको छ । उता ओली पनि विगतमा आफूविरुद्ध नेपालले गरेको हर्कतबाट रुष्टिएका थिए । सर्वाेच्च अदालतको पछिल्लो निर्णयबाट आफ्नो राजनीतिक भविष्य जोगिएको ठहर गर्दै उनले आफू इतरका आफ्नै पार्टीका सहयोद्धाहरुलाई जसरी पनि पाखा लगाउने रणनीतिमा लागिपरेका छन् । उनले यति मात्र गरेका छैनन्, कि कुनैपनि हालतमा आफ्ना समकक्षी माधवकुमार नेपाल र झलनाथ खनालको राजनीतिक भविष्य नै संकटमा पार्ने गरी रणनीति बनाउन थालेका छन् ।   

यस्तै अवस्था विद्यमान रहन थालेपछि ओली इतरका समूहलाई नेतृत्व गर्दै आएका माधवकुमार नेपालका निम्ति अबका दिनमा नेकपा एमालेभित्रै बसेर राजनीतिक यात्रा अगाडि बढाउन कठिन हुन थालेको छ । जसको कारण अहिले नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन् । 

यसैबीच नेता नेपालले बिहिबार पोखरामा आयोजित कार्यक्रममा केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका थिए । कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने घोषणा मात्र गरेनन्, यसको प्रक्रिया समेत अगाडि बढाइसकेका छन् । 

खनाल–नेपाल समूहले यसअघिनै हरेक प्रदेशमा संयोजक तोकिसकेको छ । नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ । पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटीसमेत गठन भइसकेका छन् ।

जस अनुसार कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् ।
यसअघि यो समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।
यस्तै रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइसकेका छन् ।

यस्तै प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा पनि समानान्तर जिल्ला कमिटी बनिसकेका छन् । यसरी नेपाल नेतृत्वको नेकपा एमालेले अब ७७ वटै जिल्लामा कमिटी बनाएर काम थाल्ने भएको छ ।
जिल्ला र प्रदेशमा मात्र नभएर खनाल–नेपाल समूहले जनवर्गीय संगठनमा पनि समानान्तर कमिटी बनाउन सुरू गरिसकेको छ । काठमाडौंमा चैत ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलापछि यो समूहले विद्यार्थी, महिला, युवा संघको राष्ट्रिय भेला गरेर केन्द्रीय कमिटी बनाइसकेको छ । 

यसअघि बुधबार मात्रै नेता नेपालले आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताएका थिए ।

नेता नेपाल र उपाध्यक्ष भीम रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीविरोधी गतिविधिमा केन्द्रित रहेको र स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नदिएको भन्दै अध्यक्ष केपी ओलीले ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाइसकेका छन् ।

सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्किएको छ । तर एमालेभित्रको विवाद र त्यसमा खनाल–नेपाल समूहले चालेका कदमलाई हेर्दा खनाल–नेपाल समूह भिन्दै पार्टी गठनको तयारीमा रहेको बुझ्न कठिन छैन ।