२०७८ असोज ०१ शुक्रबार

प्रधानमन्त्री ओलीले भने- माधव नेपालसँगको वार्ता सकारात्मक भएको छ

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन्। वरिष्ठ नेता नेपालसँग बिहीबार भएको छलफल सकारात्मक भएको उनले आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका हुन्। बुढानिलकण्ठमा झण्डै चार घण्टा भएको छलफलमा पार्टीभित्रका विवाद मिलाउनेबारे थुप्रै विकल्पबारे कुराकानी भएको जानकारी गराएका थिए। उनले कार्यदल बनाएर पार्टीभित्रको विवाद समाधानका लागि उपाय खोजिने समेत आफूनिकट नेताहरूलाई बताएका थिए। वरिष्ठ नेता नेपालले पनि आफूनिकट नेताहरूसँग २०७५ जेठ २ मा फर्किन ओली सकारात्मक रहेको ब्रिफिङ गरेका थिए। नेपाल पक्षले पार्टीलाई २०७५ जेठ ३ को संगठनात्मक ढाचामा लैजानुपर्ने अडान लिएको छ। २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपाल एकातिर थिए भने ओली अर्कोतिर थिए। तर, २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि ओलीले नेपाल पक्षको सहभागिताबिनै पार्टी चलाएका छन्। पुस ५ पछि बनेका संगठनलाई के गर्ने लगायतका विषयमा कार्यदलले निर्णय गर्ने ओली र नेपालबीचमा सहमति भएको छ।