२०७८ जेठ ०४ मंगलबार

मनसुनी प्रभाव फैलियो, सर्तक रहन आग्रह

काठमाडौं । मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ ।

मनसुन न्यून चापिय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले धेरैजसो भू–भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडी र अरव सागरबाट भित्रिने जलवाष्पयुक्त हावा नेपाली भू–भागमा एकीकृत हुँदा भारी र अध्यधिक वर्षा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

मुलुकको भौगोलिक बनावटअनुसार अध्यधिक र भारी बर्षाको मात्रा र प्रभाव फरक हुने उहाँको भनाइ छ । ‘कुनै जिल्ला विशेषभन्दा पनि धेरैजसो भू–भागमा भारी वर्षा हुँदैछ, त्यसैले नदी तटीय क्षेत्र, भिरालो भू–भाग र सामान्य वर्षामा पनि डुवान हुने क्षेत्र आसपासमा सर्तकता अपनाउनु उत्तम हुन्छ’–रिमालले भन्नुभयो ।

एक घन्टाभित्र कुनै क्षेत्रमा लगातार ६० मिलिमिटर र सो भन्दा माथि वर्षा भएमा त्यस्तो अवस्थालाई मौसमविद्हरु भारी वर्षाका रुपमा बुझ्ने गर्छन् ।

यसैबीच जल तथा मौसम विज्ञान विभागको वाढी पुर्वानुमान शाखाले मुलुकको पश्चिम, मध्य र पूर्वी पहाडी भेगहरुमा भारी वर्षा हुने बताउँदै नदी र जलाधार क्षेत्र आसपासका वस्तीमा सर्तकता अपनाउन आग्रह गरेको छ ।

चुरे र महाभारत क्षेत्र आसपास हुँदै बहने अधिकांश नदी र खहरेमा पानीको बहाव सतर्कता तहसम्म पुग्ने उच्च सम्भावना औल्याउँदै शाखाले आज सोमबारसम्म सर्तक रहन आग्रह गरेको हो । नेपाल समाचारपत्र