२०७८ जेठ ३० आइतबार

भक्तपुरको महत्वपूर्ण सम्पदा भएर पनि जिर्ण अवस्थामा रहेको मङ्गलेश्वर महादेव मन्दिर

भक्तपुर–३ मङ्गलाछे नासमना टोलमा मङ्गलेश्वर महादेव मन्दिर अवस्थीत छ । शिखर शैलीमा निर्मित यो मन्दिर अति पुरानो हो । मन्दिरको गर्भगृहमा मङ्गलेश्वर महादेवको सिद्धज्योतिर्लिङ्ग रहेको छ । यो चतुषष्ठिः स्वयम्भू सिद्धज्योतिर्लिङ्ग मध्य एक हो । ऐतिहासिक भक्तपुर नगरको घना वस्तीको वीचमा रहेको यो मन्दिर ऐतिहासिक एवं पौराणिक महत्व भएर पनि ओझेलमा परेको देखिन्छ । 

मन्दिरको गर्भगृहमा मङ्गलेश्वर महादेवको सिद्धज्योतिर्लिङ्ग रहेको छ । यस ज्योतिर्लिङ्गलाई मुद्राको माला, चाँदीबाट निर्मित तुल्सीपत्र तथा वेलपत्रका मालाहरुले सजाइएको छ । शिर्षभागमा पाँच शिर भएको नागको मूर्ति रहेको छ । यसैगरी बीच भागमा दुई शिर भएको नागको मूर्ति रहेको छ । यहाँ शिव लिङ्गहरु, शंखहरु तथा नागका मूर्तिहरु रहेका छन् । साथै यहाँ धातुबाट निर्मित वसाहा पनि रहेको छ । मन्दिरको दक्षिणी भित्तामा नृत्यश्वर अर्थात नास द्यः स्थापित छ । यो स्थान पनि साहै्र जिर्ण अवस्थामा देखिन्छ । यस स्थानमा पहिले वि.सं. १९९० सालको महाभूकम्प अगाडि मन्दिरका स्वरुप रहेको बतान्छ ।